काठमाडौं । नेपाली चलचित्रमा लोकप्रियता कमाएकी चलचित्र अभिनेत्री करिश्मा मानन्धरले सिन्धुपाल्चोकका बाढीपीडितका लागि एक लाख रुपैयाँ सहयोगको गर्ने बताउनुभएको छ । उहाँले उक्त सहयोग अभिनेता कृष्ण मल्लको संयोजकत्वमा गठित बाढी प्रभावितको दीर्घकालीन व्यवस्थापन समितिमार्फत दिने घोषणा गर्नुभएको हो । सो रकमको सहयोग गर्ने जानकारी उहाँले सामाजिक संजाल फेसबुकमार्फत सार्वजनिक गर्नुभएको छ ।
‘सिन्धुपाल्चोकको सहयोगका लागि हिजो भएको मिटिङ अनुसार आदरणीय दाइ कृष्ण मल्लको संयोजनमा १० गते सबै कलाकारहरुका तर्फबाट आ–आफूले सक्ने सहयोग सम्बन्धित निकायलाई हस्तान्तरण गरिने निधो भएकाले सम्पूर्ण कलाकार साथीहरूलाई यो जानकारी गराएँ’ उहाँले लेख्नुभएको छ ।
साथै कलाकारहरुबाट उठेको रकमले कमसेकम बाढीपीडितहरुलाई वर्षाको मौसममा ओत लाग्ने छानोको व्यवस्था हुन सकोस् भन्ने कामना गर्दै उहाँले आफ्नोतर्फबाट रु एक लाख उपलब्ध गराउने जानकारी गराउनुभयो । साथै उहाँले सकेको सहयोग गर्न सबैलाई अनुरोधसमेत गर्नुभएको छ ।