काठमाडौँ । नेपालमा पछिल्लो केही दिनदेखिको लगातारको वर्षाले विभिन्न ठाउँमा जनधनको क्षति भइरहेका बेला सिन्धुपाल्चोक पनि त्यसबाट अछुतो रहन सकेन । त्यसमा पनि सिन्धुपाल्चोकमा अन्यभन्दा बढी क्षति भएको छ । मेलम्चीको बाढीको दृश्यले देश रोइरहेका बेला त्यहाँका बाढी प्रभावित स्थानीयलाई कलाकारहरूले सहयोग गर्ने घोषणा गर्नुभएको छ ।
यसैबीच नायिका पूजा शर्मा र श्वेता खड्काले सिन्धुपाल्चोकका बाढी प्रभावितका लागि सहयोग वितरण गर्ने बताउनुभएको छ । सिन्धुपाल्चोकमै जन्म भएर काठमाडौंमा कलाकारिता गरिरहनुभएका नायिकाद्वय पूजा र श्वेताले सुख आफूलाई मात्र भएर पनि मन खुशी नहुने भन्दै अरूलाई दुःख पर्दा मन रुने कुरा उल्लेख गर्नुभएको छ ।
पुजाले आफू र साथीहरूको क्षमताले भ्याएसम्म केही सामान लिएर सिन्धुपाल्चोक जान लागेको बताउनुभएको छ । नायिका श्वेताले पनि मेलम्चीको समस्या सबैको समस्या भएको भन्दै सहयोग वितरण गर्न जाने तयारी गरेको जानकारी दिनुभएको छ । श्वेताले विभिन्न सहयोगीका साथमा खाद्यान्न लिएर मेलम्ची जाने उल्लेख गर्नुभयो । श्वेताले विपद्को घडीमा सहयोगको पाइला अघि सारेको र हातेमालो गर्न सबैसँग अपिल गर्नुभएको छ ।