काठमाडौं । नेपालमा कोरोना भाइरस संक्रमणका संक्रमित ६०८५ जनामा थपिएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार १७ हजार १४७ पीसीआर परीक्षणमा ५२८५ जना र ३०१८ एन्टिजेन परीक्षणमा ८०० जना गरी ६०८५ जनामा संक्रमण पुष्टि भएको हो । मंगलबारको संक्रमणदर ३०.१७ प्रतिशत देखिएको छ ।
नेपालमा हालसम्म कोरोना संक्रमितको संख्या ५ लाख ६६ हजार ५८७ पुगेको छ । जसमध्ये सक्रिय संक्रमितको संख्या १ लाख चार हजार ७८९ रहेको छ ।
पछिल्लो २४ घण्टामा ६८९८ जना संक्रमणबाट मुक्त भएका छन् । हालसम्म संक्रमणमुक्त हुनेको संख्या ४ लाख ५४ हजार ३४४ रहेको छ ।
त्यस्तै पछिल्लो २४ घण्टामा २५ दिन यताकै कम अर्थात ६८ जना संक्रमितको मृत्यु भएको छ । कोरोना भाइरस संक्रमणको दोस्रो लहरमा मृतक संख्या बढेर जेठ ५ गते एकै दिन २४६ जनासम्म पुगेको थियो । त्यसपछि मृतक संख्या घट्दै आएको छ ।
कोरोना भाइरस संक्रमणका कारण मृत्यु हुनेको संख्या ७ हजार ४५४ पुगेको छ ।
उपत्यकामा थपिए १,५५८ जना संक्रमित
पछिल्लो २४ घण्टामा काठमाडौँ उपत्यकामा १ हजार ५ सय ५८ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । मन्त्रालयका अनुसार काठमाडौँमा १०६० जना, भक्तपुरमा २१५ जना र ललितपुरमा २८३ जना कोरोना संक्रमित भेटिएका छन् ।




















