बागलुङ । धवलागिरि साहित्य प्रतिष्ठान, बागलुङले दुई साहित्यकारलाई पुरस्कृत गरेको छ । प्रतिष्ठानमा स्थापित रु. १५ हजार राशिको ‘काजी रोशन साहित्य पुरस्कार’ साहित्यकार डा षडानन्द पौड्याललाई र रु. १० हजार राशिको ‘बम–सरस्वती स्मृति पुरस्कार’ काभ्रेपलाञ्चोकका साहित्यकार सूर्यप्रसाद लाकोजूलाई प्रदान गरिएको हो ।
आज यहाँ आयोजित समारोहमा धवलागिरि बहुमुखी क्याम्पसका प्रमुख प्रा डा रामप्रसाद उपाध्याय र प्रतिष्ठानका अध्यक्ष काजी रोशनले साहित्यकारद्वयलाई संयुक्त रुपमा नगद, दोसल्ला र पुरस्कारको प्रमाणपत्र प्रदान गर्नुभयो । डा पौड्यालको समालोचनात्मक कृति ‘काजी रोशनको काव्य साधना’का लागि सो पुरस्कार प्रदान गरिएको हो ।
यस्तै भाषा, साहित्यको उन्नयनमा योगदान पु¥याएबापत साहित्यकार लाकोजूलाई पुरस्कृत गरिएको प्रतिष्ठानका अध्यक्ष रोशनले बताउनुभयो । लाकोजूले प्राप्त गर्नुभएको ‘बम–सरस्वती स्मृति पुरस्कार’ बागलुङ नगरपालिका–३ मूलपानी घर भई हाल बेल्जियममा रहनुभएका कवि दीपेन्द्र केसीले आफ्ना दिवङ्गत हजुरबुबा र हजुरआमाको स्मृतिमा स्थापना गर्नुभएको हो ।
दुवै पुरस्कार दुई/दुई वर्षको अन्तरमा वितरण गर्ने गरिन्छ । साहित्य रचना र प्रवद्र्धनमा उल्लेख्य योगदान पु-याएका कवि/साहित्यकारलाई पुरस्कृत गर्ने गरिएको प्रतिष्ठानले जनाएको छ । पुरस्कार ग्रहणपछि बोल्दै साहित्यकार डा. पौड्यालले पुरस्कारले आफूलाई थप जिम्वेवारीबोध भएको उल्लेख गर्नुभयो ।
साहित्यकार लाकोजूले साहित्यको सेवामा सदा सक्रिय रहने प्रतिबद्धता व्यक्त गर्नुभयो । सोही समारोहमा कवि राधिका कल्पितको कविता कृति ‘बरफका कोइलाहरु’को समेत विमोचन गरिएको थियो । उक्त कृतिमाथि सहप्राध्यापक हरिप्रसाद गौतमले समीक्षात्मक टिप्पणी राख्नुभएको थियो । (रासस)