काठमाडौँ । चीन सरकारले नेपाललाई उपलब्ध गराएको कोभिड–१९ विरुद्धको आठ लाख मात्रा (डोज) खोप आज हस्तान्तरण गरिएको छ । प्रधानमन्त्री निवास बालुवाटारमा आयोजित कार्यक्रममा नेपालका लागि चिनियाँ राजदूत हाउ याङ्सीले प्रधानमन्त्री केपी शर्मा ओलीलाई सो खोप औपचारिक रुपमा हस्तान्तरण गर्नुभएको हो ।
खोप हस्तान्तरण कार्यक्रममा बोल्दै प्रधानमन्त्री ओलीले नेपाल–चीन सम्बन्ध एक कदम अगाडि बढेको बताउनु भयो ।
कोभिडविरुद्धको लडाइमा नेपाल र चीनका नीति समान रहेको बताउँदै प्रधानमन्त्री ओलीले चीनबाट प्राप्त आठ लाख डोज खोपले नेपालको खोप कार्यक्रमलाई अगाडि बढाउने मद्दत पुगेको बताउनु भयो ।
प्रधानमन्त्रीले खोपका लागि चीन सरकारलाई धन्यवाद समेत दिनु भयो । प्राकृतिक विपत्तिमा दुबै मुलुक मिलेर अगाडि बढ्नुपर्ने प्रम ओलीले बताउनु भयो ।
चिनियाँ राजदूत यान्छीले नेपालको विकासमा मित्रराष्ट्र चीन सँधै उभिने बताउँदै चीनको पञ्चवर्षिय योजनामा मित्रराष्ट्रको हित पनि समावेश भएको बताइन् । खोपको औपचारिक हस्तान्तरण कार्यक्रममा परराष्ट्रमन्त्री प्रदीप ज्ञवाली समेत उपस्थित थिए ।
चीनले सिनोफार्मले विकास गरेको ८ लाख डोज भेरोसेल नेपाललाई उपलब्ध गराएको हो । सो खोप नेपाल वायुसेवा निगमको जहाजले आज काठमाडौं ल्याएको थियो । आज विहान राजदूत यान्छीले विमानस्थलमा स्वास्थ्यमन्त्री हृदयेश त्रिपाठीलाई खोप हस्तान्तरण गर्नु भएको थियो ।



















