काठमाडौँ । नेपाली कांग्रेसका पूर्वसभापति शेरबहादुर देउवाले सर्वोच्च अदालतबाट आफूले न्याय पाउने विश्वास व्यक्त गरेका छन् ।
बीपी जयन्तीका अवसरमा नेपाली कांग्रेस भक्तपुर जिल्ला कार्यसमितिले बुधबार आयोजना गरेको कार्यक्रममा बोल्दै देउवाले पञ्चायतकादेखि नै अदालतले आफ्नो पक्षमा न्याय दिँदै आएको उल्लेख गर्दै यसपटक पनि न्याय पाउने विश्वास व्यक्त गरेका हुन् ।
”मलाई विश्वास छ, सर्वोच्च अदालतले मलाई न्याय दिनेछ । जतिसुकै षड्यन्त्र गरे पनि देशको सर्वोच्च अदालत भएकाले मैले न्याय पाउँछु भन्ने विश्वास छ,” उनले भने ।
कांग्रेसको १५औँ महाधिवेशनको तयारीमा जुट्न उनले पार्टीका नेता–कार्यकर्तालाई आग्रह गरे । उनले आ–आफ्नो जिल्लाका कांग्रेस नेता तथा कार्यकर्तालाई महाधिवेशनका लागि तयारी अवस्थामा रहन निर्देशनसमेत दिए । आफू देशभर घुमेर १५औँ महाधिवेशनको तयारीमा लाग्ने देउवाले बताए ।



















