काठमाडौँ । स्वास्थ्य तथा जनसंङ्ख्या मन्त्रालयले मौसममा आएको परिवर्तनसँग काठमाडौ उपत्यकाभित्रको वायु प्रदूषण बढेकोले अत्यावश्यक कामबाहेक घर बाहिर ननिस्कन सबैलाई अपिल गरेको छ ।
मन्त्रालयका सहप्रवक्ता डा. समिरकुमार अधिकारीले शुक्रबार अपिल जारी गर्दै वायु प्रदूषणले स्वासप्रश्वासमा कठिनाइलगायत विविध स्वास्थ्य समस्या देखा पर्न सक्ने भएकोले अत्यावश्यक कामबाहेक घरबाहिर ननिस्कन र निस्कनै पर्ने अवस्था भए मास्कको प्रयोग गर्न आह्वान गर्नुभएको छ ।
उहाँले अत्यावश्यक नभई सवारीसाधान नचलाउन र सवारीसाधन वा पेशा व्यवसायका कारण हुन सक्ने वायु प्रदूषणलाई कम गर्न आग्रह गर्नुभयो । अपिलमा घरबाहिरको खुलास्थानमा नबस्न, नखेल्न र मर्निङवाकमा घरबाहिर जाने गरेको भए पनि नजान भन्नुभएको छ ।
“घरबाहिर खुलास्थानमा नबसौ, नखेलौं, मर्निङवाकमा जाने वा घर बाहिर गएर शारीरिक व्यायाम गर्ने गरिएको छ भने यस्तो अवस्थामा रोकौँ” उहाँले जारी गर्नु भएको अपिलमा भनिएको छ, “घरभित्रै बसौँ, घरभित्रै व्यायाम गरौँ ।
बालबालिका, दीर्घ रोगी, ज्येष्ठ नागरिकको विशेष ख्याल गरौँ ।” यस्तै उहाँले फोहरको उचित व्यवस्थापन गर्न र फोहर जम्मा गर्ने काम नगर्न पनि आग्रह गर्नुभएको छ ।
मन्त्रालयका सहप्रवक्ता डा. अधिकारीले धुलो धुँवा उड्ने खालका पेशा, व्यवसाय, निर्माणकार्य केही दिनलाई स्थगन गर्न पनि आह्वान गर्नुभयो ।