काठमाडौँ । कानून, न्याय तथा संसदीय मामिला मन्त्री सोबिता गौतमले आमालाई कम्तीमा ६ महिना र बुबालाई ४२ दिनसम्म तलबसहितको प्रसूति तथा स्याहार बिदा दिने व्यवस्था प्रस्ताव गरिएको बताएकी छन्।
मन्त्री गौतमले बुधबार सामाजिक सञ्जालमार्फत सुरक्षित मातृत्व तथा प्रजनन स्वास्थ्य अधिकार ऐन, २०७५ संशोधनका लागि तयार गरिएको विधेयकमा यस्तो व्यवस्था प्रस्ताव गरिएको जानकारी दिएकी हुन्।
उनका अनुसार कामको चाप र बदलिँदो जीवनशैलीका कारण अधिकांश परिवार एक वा दुई सन्तानमा सीमित भइरहेका छन्। यस्तो अवस्थामा मातृत्व र पितृत्वको विशेष समयमा अभिभावकलाई नवजात शिशु तथा परिवारका लागि पर्याप्त समय उपलब्ध गराउनु राज्यको जिम्मेवारीसमेत रहेको उनको भनाइ छ।
विधेयकमा आमालाई कम्तीमा ६ महिना तलबसहितको प्रसूति बिदा र बुबालाई ४२ दिनसम्म तलबसहितको प्रसूति स्याहार बिदा दिने प्रस्ताव गरिएको मन्त्री गौतमले बताएकी छन्।
उनका अनुसार विधेयक मन्त्रिपरिषद्बाट स्वीकृत गराएर संसद्मा प्रस्तुत गर्ने तयारी भइरहेको छ। सुरक्षित मातृत्व र अभिभावकत्वका सन्दर्भमा प्रस्तावित व्यवस्था महत्त्वपूर्ण नीतिगत परिवर्तन हुने उनको भनाइ छ।
मन्त्री गौतमले बच्चा जन्माउने प्रक्रिया आमासँग जोडिए पनि बच्चा हुर्काउने जिम्मेवारी आमाको मात्र नभएको उल्लेख गरेकी छन्। बच्चाको हेरचाह र पालनपोषणमा बुबाको समेत समान भूमिका रहने भएकाले प्रसूति स्याहार बिदाको व्यवस्था प्रस्ताव गरिएको उनले बताएकी छन्।




















