काठमाडौँ । प्रधानमन्त्री वालेन्द्र शाह र नेपालका लागि अमेरिकी कार्यवाहक राजदूत मेगन बोल्डिनबीच बुधबार शिष्टाचार भेटवार्ता भएको छ।
सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा भएको भेटमा प्रधानमन्त्री शाहले विपद्को कठिन परिस्थितिमा नेपालप्रति अमेरिकी सरकारले व्यक्त गरेको ऐक्यबद्धता र सहयोगप्रति आभार व्यक्त गरे।
भेटका क्रममा प्रधानमन्त्री शाहले भोटेकोसी बाढीका कारण नेपालीसँगै विदेशी नागरिकसमेत प्रभावित भएको उल्लेख गर्दै जलवायु परिवर्तनको प्रभावस्वरूप नेपालले यस्तो विपद्को सामना गर्नुपरेको बताए।
उनले जलवायुजन्य विपद्को जोखिम न्यूनीकरण तथा त्यसबाट हुने क्षति सम्बोधन गर्न विश्वव्यापी सहकार्य र सामूहिक प्रयासलाई थप सुदृढ बनाउनुपर्नेमा जोड दिए।
भेटमा नेपालको पर्यटन क्षेत्रको सम्भावना तथा पर्यटन विकासमार्फत नेपाल र अमेरिकाबीच पारस्परिक लाभ हासिल गर्न सकिने अवसरबारे समेत छलफल भएको थियो। प्रधानमन्त्री शाहले नेपालमा अमेरिकी लगानीलाई सरकारले स्वागत गर्ने बताए।
भेटका क्रममा कार्यवाहक राजदूत बोल्डिनले रसुवामा आएको बाढीबाट भएको जनधनको क्षतिप्रति दुःख व्यक्त गर्दै शोकसन्तप्त परिवार तथा प्रभावित समुदायप्रति समवेदना प्रकट गरिन्।
उनले विपद्को यस कठिन घडीमा अमेरिकी सरकार नेपाल सरकार र नेपाली जनताको साथमा रहेको बताउँदै राहत, पुनःस्थापना तथा पुनर्निर्माणका प्रयासमा आवश्यक सहयोग र सहकार्य गर्न अमेरिकी सरकार तत्पर रहेको जानकारी गराइन्।




















