काठमाडौँ । बाढी, पहिरो तथा सडक मर्मतका कारण देशका विभिन्न मुख्य राजमार्ग एवं सडक खण्ड प्रभावित भएका छन्। नेपाल प्रहरीद्वारा जारी भदौ ३१ गते बिहान ६ बजेसम्मको अद्यावधिक विवरणअनुसार बागमती र कर्णाली प्रदेशका मुख्य सडकहरूमा अवरोध कायमै रहेको छ।
बागमती प्रदेशअन्तर्गत काभ्रेको बिपी राजमार्गस्थित खुर्कोट-नेपालथोक-कटुन्जेबेँसी खण्डमा १० टनसम्मका मालवाहक सवारी साधन साँझ ७ बजेदेखि बिहान ५ बजेसम्म सञ्चालन हुनेछन्। अन्य सवारी साधन भने बिहान ४ बजेदेखि साँझ ६ बजेसम्म परिस्थितिको विचार गरी सञ्चालन गरिनेछ। रसुवाका मुख्य राजमार्गहरू बाढीका कारण पूर्ण रूपमा अवरुद्ध छन्।
नुवाकोटको टोखा-छहरे सडक खण्डअन्तर्गत शिवपुरी गाउँपालिका-८ घण्टेखोलामा राति १० बजेदेखि बिहान ५ बजेसम्म सवारी सञ्चालनमा रोक लगाइएको छ भने पसाङ ल्हामु सडक खण्डको विदुर-१० सिमटारमा बाढीका कारण सडक पूर्ण रूपमा बन्द छ।
धादिङस्थित पृथ्वी राजमार्गको बेनिघाट रोराङ-७ कृष्ण भिरमा पहिरो जाँदा यातायात पूर्ण रूपमा ठप्प भएको छ। सोही गाउँपालिकाको जवाङखोला र शितलबजार क्षेत्रमा भने पहिरो हटाई सडक एकतर्फी सुचारु गरिएको छ। चितवनको नारायणगढ-मुग्लिन सडक खण्डअन्तर्गत तुइनखोलामा सडक मर्मतका कारण गाडीको चाप हेरेर एकतर्फी रूपमा गाडी सञ्चालन भइरहेको छ।
यसैगरी कर्णाली प्रदेशअन्तर्गत हुम्लाको कर्णाली करिडोरमा पर्ने सर्केगाड गाउँपालिका-६ खरीखेतमा गएको पहिरोका कारण सडक पूर्ण रूपमा अवरुद्ध रहेको प्रहरीले जनाएको छ।




















