काठमाडौँ । सर्वोच्च अदालतको नयाँ भवनमा रहेको मुद्दा फाँटमा बुधबार बिहान आगलागी भएको छ।
बिहान करिब साढे ८ बजे नयाँ भवनको भुइँतलामा रहेको मुद्दा फाँटमा आगलागी भएको हो। मुद्दा फाँटका २० र २१ नम्बर कक्षमा आगलागी हुँदा तीनवटा कम्प्युटर जलेका छन्।
न्यायकर्मी हरि भट्टराईले आगलागीस्थलका तस्बिर सामाजिक सञ्जालमा सार्वजनिक गर्दै विद्युत् सर्टका कारण आगलागी भएको हुन सक्ने बताएका छन्। उनले अदालतमा थप सावधानी अपनाउनुपर्ने आवश्यकता औँल्याएका छन्।
यसअघि भदौ १७ गते राति पनि सर्वोच्च अदालतको अभिलेख शाखामा आगलागी भएको थियो।
गत वर्ष भदौ २४ गते जेनजी आन्दोलनका क्रममा सर्वोच्च अदालतको पुरानो भवनमा समेत आगजनी भएको थियो। त्यसपछि सर्वोच्च अदालतको कामकारबाही नयाँ भवनबाट सञ्चालन हुँदै आएको छ।




















