काठमाडौँ । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले कोभिड–१९ को सङ्क्रणको जोखिम बढ्ने सम्भावना भएकाले विद्यालयमा पठनपाठन गर्दा भीडभाड नगर्न तथा जनस्वास्थ्य र सुरक्षाका मापदण्डको कडाइसाथ पालना गर्न आग्रह गरेको छ ।
शिक्षामन्त्री कृष्णगोपाल श्रेष्ठको अध्यक्षतामा आज मन्त्रालयमा सम्पन्न बैठकले शिक्षक तथा विद्यार्थीको स्वास्थ्य र शिक्षण संस्थाका क्रियाकलापमा पर्नसक्ने प्रतिकूल असरका विषयमा समीक्षा गरी उक्त आग्रह गर्ने निर्णय गरेको हो ।
मन्त्रालयका प्रवक्ता दीपक शर्माका अनुसार सबै प्रकारका शिक्षण संस्थाले स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले तय गरेको जनस्वास्थ्य र सुरक्षासम्बन्धी मापदण्डका साथै प्रदेश सरकार र स्थानीय तहबाट स्थान विशेषमा तय गरिएका थप मापदण्डको पूर्णरूपमा पालन गर्ने, शिक्षण संस्थामा मास्क तथा स्यानिटाइजरको प्रयोग गर्ने, साबुनपानीले हात धुने, ज्वरो नाप्ने र कसैमा सङ्क्रमणको लक्षण पाइएमा नजिकको स्वास्थ्य संस्थामा सम्पर्क गर्ने व्यवस्थालाई प्रभावकारी बनाउन पनि आग्रह गरिएको छ ।
मन्त्रालयले जारी गरेको विज्ञप्तिमा ‘विद्यालय सञ्चालनसम्बन्धी कार्यढाँचा, २०७७’ को पूर्णरूपमा अनुशरण गर्न तथा शिक्षण संस्थामा सभा, समारोह, वार्षिकोत्सव जस्ता भिडभाड हुने प्रकृतिका कार्यक्रमको आयोजना नगर्न नगराउनसमेत भनिएको छ ।
२४ घण्टामा १२० कोरोना सङ्क्रमित
पछिल्लो २४ घण्टामा १२० कोरोना सङ्क्रमित भएका छन् । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार कूल दुई हजार ८९१ जनाको आरडिटी पिसिआर परीक्षण गर्दा उक्त सङ्ख्यामा कोरोना सङ्क्रमित भएको पाइएको हो ।
मन्त्रालयका अनुसार काठमाडौँमा कूल ४१ नयाँ सङ्क्रमित फेला परेका छन् । त्यस्तै भक्तपुरमा १९, कास्कीमा १९ नै सङ्क्रमित फेला पर्दा, दाङमा छ, ललितपुरमा पाँच, मोरङ र रुपन्देहीमा चार÷चार जना संङ्क्रमित भएका छन् ।
सल्यान र डोटीमा तीन/तीन जना, तनहुँ, पाल्पामा दुई÷दुई जना, खोटाङ, झापा, सुनसरी, पर्सा, चितवन, रामेछाप, सिन्धुपाल्चोक, गोरखा, म्याग्दी, बाँके, कञ्चनपुर र कैलालीमा एक/एक जना कोरोना सङ्क्रमति फेला परेका छन् ।
प्रदेशगतरुपमा प्रदेश नं १ मा सात, प्रदेश नं २ मा एक, वाग्मतीमा ६८, गण्डकीमा २३, लुम्बिनीमा १३, कर्णालीमा तीन र सुदूरपश्चिममा पाँच सङ्क्रमित फेला परेका छन् । हाल देशभरका क्वारेन्टाइनमा ५५ जना रहेका छन् ।
यसैबीच मन्त्रालयले भारत तथा बेलायत, जर्मनी, फ्रान्सलगायतका देशमा कोभिड– १९ को सङ्क्रमण दर वृद्धि भएको र नेपालमा समेत यसको प्रभाव पर्नसक्ने भएकाले कोभिड– १९ सङ्कट व्यवस्थापन केन्द्र निर्देशक समितिसमक्ष केही सुझाव दिएको छ ।
सिसिएमसीले तराईका जिल्लामा नेपाल र भारतबीच सीमानाकाबाट नेपाल प्रवेश गर्ने क्षेत्रमा निगरानी बढाउने र केन्द्रबाट अनुमगन गर्नुपर्ने सुझाव दिएको छ । त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थलमा आन्तरिक र अन्तरराष्ट्रिय आगमन तथा प्रस्थान कक्षमा निगरानी बढाई स्वास्थ्य परीक्षणमा थप सक्रियता बढाउने भएको छ ।
हाल सञ्चालनमा रहेका नेपाल र भारतबीचका सीमानाकालाई कोभिड– १९ को सङ्क्रमणको अवस्था हेरी पुनरावलोकन गर्ने र सङ्क्रमण दर उच्च हुन पुगेमा नाका घटाउनेतर्फ गृह मन्त्रालयलाई आवश्यक गृहकार्य गर्न आग्रह गरिएको छ ।
यस्तै सङ्क्रमण देखिएमा छुट्टै सवारी साधनको प्रयोग गरी होम आइसोलेशनमा पु¥याउने व्यवस्था मिलाउन जिल्लास्थित डिसिसिएमसीलाई निर्देशन दिने तथा स्थानीय तहबाट होम आइसोलेशनको निगरानी बढाउने भएको छ ।
त्यस्तै पर्यटन क्षेत्रअन्तर्गत सञ्चालन हुने रात्रिकालीन कार्यक्रममा स्वास्थ्यमा मापदण्ड अनिवार्यरुपमा पालना गर्न लगाउने, राति ९ः०० बजेपछि रात्रिकालीन कार्यक्रम बन्द गर्न लगाउने र यसको अनुगमन संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले गर्नुपर्नेछ ।
यसैगरी विद्यालयमा कोभिड– १९ को सङ्क्रमणबाट जोगिन स्वास्थ्यका मापदण्ड पालना भए नभएको शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयमार्फत अनुमगन गर्न लगाउने स्वास्थ्य मन्त्रालयको सुझाव छ ।




















