काठमाडौं । भगवान् गौतम बुद्धको दर्शन तथा बोधिसत्वको प्रभावलाई रंगमञ्चमार्फत् विश्वमाझ चिनाउने उद्देश्यले चैत ८ गतेदेखि १४ गतेसम्म ‘बुद्ध थिएटर फेस्टिबल’को आयोजना हुने भएको छ ।
राष्ट्रिय विभूति भगवान् गौतम बुद्धको दर्शन तथा बोधिसत्वको प्रभावलाई रंगमञ्चमार्फत् विश्वमाझ चिनाउने उद्देश्यले यो महोत्सवको आयोजना गर्न लागिएको पत्रकार सम्मेलनमा जानकारी गराइयो ।
महोत्सव राष्ट्रिय नाचघर र डबली थिएटरको आयोजना तथा वाग्मती प्रदेश सरकारको सहयोगमा काठमाडौंको जमलस्थित राष्ट्रिय नाचघरमा हुनेछ ।
एक वर्षअघि नै तयारी थालिए पनि कोरोना महामारीका कारण स्थगित भएकोमा अवस्था केही सामान्य भएसँगै सञ्चालन गर्न लागिएको आयोजकले जनाएको छ ।
एक साता चल्ने महोत्सवमा राष्ट्रिय एवं अन्तर्राष्ट्रिय गरी सातवटा नाटक मञ्चन हुनेछन् । नेपालबाट मण्डला थिएटर, झोराहट थिएटर, सेलो थिएटर, नाचघर, मेला आर्टस् एकेडेमीबाट एक/एकवटा नाटक मञ्चन हुनेछ । हङकङ र भारतको नाटकसमेत मञ्चन हुने जनाइएको छ । महोत्सवमा चर्या नृत्य तथा कार्यपत्र पनि प्रस्तुत हुनेछ ।