काठमाडौं । नेपाली सेनाको तीन दिवसीय ‘पृतनापति समन्वयात्मक बैठक २०७७’ सम्पन्न भएकोछ । फागुन १९ गतेबाट जंगी अड्डास्थित आयोजित वैठक आज सम्पन्न भएको नेपाली सेनाले जनाएको छ ।
वैठकको समापन समारोहमा मन्तव्य राख्नु हुँदै प्रधान सेनापति पुर्णचन्द्र थापाले सम्मेलनबाट भविष्यमा नेपाली सेनाले गर्नैपर्ने, गर्नुपर्ने र गर्नसक्ने कार्यहरुको योजना निर्माणमा सबैको समान सोच र दृष्टिकोण बनाउन मद्दत पुर्याउने र भावी योजनाको प्रभावकारी कार्यान्वयनको आधार तयार भएको बताउनु भएको छ ।
नीति, नियम र निर्देशिकामा आधारित कार्यप्रणालीले नै नेपाली सेनालाई पद्धति र प्रणालीमा आधारित System Driven Organization को रुपमा स्थापित गर्ने भन्दै उहाँले सबैलाई बैठकमा उठेका विविध आन्तरिक सुदृढीकरणका विषयहरुको प्रभावकारी कार्यान्वयनको लागि निर्देशन दिनु भएको छ ।
नियमित रुपमा सञ्चालन हुने उच्चस्तरीय समन्वयात्मक बैठकमा भएका प्रस्तुतिकरण र उठान भएका बिषयवस्तुहरुमाथी भएको गहन छलफल तथा आपसी अन्तरक्रियाबाट प्राप्त भएका अमुल्य राय सुझावहरुले नेपाली सेनाको नीति निर्माण तथा भावी योजना तर्जुमा गर्न उपयुक्त दिशानिर्देश गर्ने विश्वास नेपाली सेनाले लिएको छ ।

वैठकको उद्घाटन प्रधानमन्त्री केपी शर्मा ओलीले गर्नु भएको थियो । सो कार्यक्रममा सम्वोधन गर्दै प्रधानमन्त्री ओलीले नेपाली सेनाको व्यावसायिकता, लगनशीलता र कर्तव्यबोध भावनाको उच्च प्रशंसा गर्नुभएको थियो । उहाँले सेनाको भावी कार्यदिशा र कार्य योजनाका लागि ठोस आधार निर्माण गर्न बैठक सफल हुने विश्वास व्यक्त गर्नुभएको थियो ।
रक्षामन्त्रीसमेत रहनुभएका प्रधानमन्त्री ओलीले बैठकमा हुने छलफल तथा त्यसका निष्कर्ष विशेषतः सेनाका फिल्डमा तैनाथ पृतना, बाहिनी, गण तथा गुल्मका लागि मार्गदर्शन हुनेमा पूर्ण विश्वस्त हुन सकिने बताउनु भएको थियो ।
बैठकमा रक्षा मन्त्रालयका प्रतिनिधि, जङ्गी अड्डाका पि.एस.ओज. रथीबृन्द, सबै पृतनाका पृतनापतिलगायत जङ्गी अड्डाका कार्यालय, विभाग, महानिर्देशनालय र निर्देशनालयका प्रमुख तथा उपत्यकाभित्र रहेका बाहिनी अड्डाका बाहिनीपति सहभागी थिए ।
महानिर्देशनालय, निर्देशनालय, कार्यालय र विभागका प्रमुख तथा पृतनापतिले बैठकमा आआफ्नो जिम्मेवारी क्षेत्रको वर्तमान वस्तुस्थिति, कार्य समीक्षा एवं सुझावसहितको प्रस्तुतीकरण गरेको सैनिक जनसम्पर्क तथा सूचना निर्देशनालयले जानकारी दिएको छ ।



















