काठमाडौं । तेजाव आक्रमण विरुद्ध सक्रिय नेपाली किशोरी मुस्कान खातुनलाई अन्तर्राष्ट्रिय साहसी महिला (आईडब्ल्यूओसी) पुरस्कार प्रदान गरिएको छ । तेजाब हमला अन्त्यतर्फ लक्षित उहाँको कार्यका लागि सो पुरस्कार प्रदान गरिएको नेपालस्थित अमेरिकी दूतावासले जनाएको छ । अमेरिकी प्रथम महिला जिल बाइडन र विदेश मन्त्री टोनी ब्लिङ्कनले ८ मार्चमा एक भर्चुअल घोषण कार्यक्रमको आयोजना गरेर खातुनलाई पुरस्कृत गर्ने बताइएको छ ।
हाल १५औँ वर्षमा रहेको आईडब्ल्यूओसी पुरस्कारले प्राय ठुलो व्यक्तिगत जोखिम र त्यागमा शान्ति, न्याय, मानव अधिकार, लैङ्गिक समानता, र महिला सशक्तीकरणको वकालत गर्ने असाधारण साहस र नेतृत्व प्रदर्शन गरेका विश्वभरका महिलाको सम्मानमा प्रदान गर्ने गरिन्छ । यसका अघिल्ला विजेताहरू मध्ये पाकिस्तानमा महिला तथा किशोरीहरूका लागि वकालत गर्ने कामका लागि सम्मानित मलाला युसुफजई पनि छिन् जो सबैभन्दा कम उमेरकी नोबेल पुरस्कार विजेता हुन् ।
सन् २०१९ मा मुस्कान १५ वर्षकी छँदा एक किशोरका प्रेम–प्रस्ताव अस्वीकार गरेकोमा तेजाब हमलाको सिकार हुन भएको थियो । उहाँको अनुहार, छाती र हातमा गहिरो चोट लागेको थियो। उहाँको स्वास्थ्यलाभ पीडादायी थियो र आजका दिनसम्म पनि जारी छ ।
यसका बाबजुद मुस्कानले एक दुखद घटनालाई नेपालमा परिवर्तन ल्याउने एक अवसरमा रूपान्तरण गर्नुभयो । धम्की र सामाजिक दबाबको सामना गर्दै मुस्कानले तेजाब हमलाविरुद्ध कडा कानुन र सजायको लागि लाग्नुभयो । प्रधानमन्त्री के।पी। ओलीसँग खातुनले भेट गर्नु भयो जसले गर्दा प्रधानमन्त्रीले तेजाब हमलासम्बन्धी नयाँ कानुनको मस्यौदा तयार पार्न आह्वान गर्नुका साथै र अपराधीहरूलाई दण्डित गर्ने तथा रसायनको बिक्रीलाई नियमन गर्ने अध्यादेश पनि जारी भएको थियो ।



















