काठमाडौं । बैतडीको दोगडाकेदार गाउँपालिका–७ चडेपानीकी १७ वर्षीया भागरथी भट्टको बलात्कार पछि हत्या भएको घटनाले समाजमा पुनः त्रास र आक्रोश उत्पन्न गराएको छ । निर्मला पन्तको बलात्कार पछि हत्या भएको र हत्यारा अझैसम्म पत्ता नलागेको अवस्थामा त्यस्तै प्रकृतिको घटना घटेपछि प्रहरीका लागि अर्को चुनौती थपिएको छ । समयमै त्यसको छानविन गरेर अपराधीलाई कानूनको दायरामा ल्याइएन भने अपराधीको मनोवल बढ्ने र नेपाल प्रहरी अरु बद्नाम हुनसक्ने सम्भावना बढेपछि सो घटनाबारे अनुसन्धान गर्न सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालयका डिआइजी उत्तमराज सुवेदी आफै अग्रसर भएका छन् ।
गत बुधबार विद्यालय गएकी भट्ट त्यसदिन घर नफर्केपछि खोजी गर्दै जाँदा उनको शव बिहीबार लवलेक जंगलको वनमारा झाडीमा भेटिएको थियो । उनको बलात्कारपछि हत्या भएको प्रहरीको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ । सो घटनाबारे सञ्चारमाध्यम, सामाजिक सञ्जालदेखि राजनीतिक वृत्तमा समेत चर्चा परिचर्चा र आक्रोश व्यक्त भइरहेको अवस्था छ ।
सो घटनाका विषयमा अभिनेत्री करिश्मा मानन्धरले आक्रोश व्यक्त गरेकी छिन् । उनले केही पुरुषहरूको मानसिकतामा यौन अपराध थुप्रिएकाले यस्ता घटना दोहोरिएको बताएकी छिन् । सामाजिक संजाल मार्फत प्रतिक्रिया जनाउँदै उनले लेखेकी छिन, ‘नेपालमा केही पुरुषहरूको मानसिकतामा यौन अपराध थुप्रिएको छ । त्यसैले बारम्बार यौन अपराध भइरहेका छन् । यो एक विकराल सामाजिक समस्या हो । यसलाई समयमा नै समाधान गर्नु जरुरी छ ।’
राजनीतिक दल, मानव अधिकारकर्मी, सामाजिक धार्मिक अभियन्ता, नागरिक समाज, कलाकार, समाजसेवीहरू सबैले मिलेर समाजमा सभ्य, अनुशासित, नैतिक र सद्भावपूर्ण वातावरण सिर्जना गर्नेतर्फ पाइला चाल्न पनि करिश्माले आग्रह गरेकी छिन । उनले लेखेकि छिन्, ‘समाजलाई शिक्षित, नैतिक, अनुशासित, सभ्य र सद्भावपूर्ण बनाउनुबाट हामी चुकिरहेका छौँ, कि ?’
यसैवीच यस्ता अपराधका घटनाबारे तत्काल अनुसन्धानमा सहयोग गर्न आवश्यक पर्ने अत्याधुनिक उपकरण भित्र्याउन नेपाल प्रहरीले चाँजोपाजो मिलाएको छ । सिम लोकेटर भनिने उपकरण जडान गरेर सीआईवीले सामाजिक सञ्जालमा हुने अपराधको अनुसन्धान गर्न त्यस्तो प्रविधि भित्र्याउन लागेको बताइएको छ ।
पाँच मिनेटमा अपराधी भेटिने हुँदा सिम लोकेटरलाई अहिलेको प्रविधिको महत्वपूर्ण उपलव्धी मानिन्छ । स्वीडेनबाट खरिद गर्न लागिएको साढे सात करोड रुपैयाँ पर्ने त्यस्तो प्रविधिले मोवाइल प्रयोगकर्ताहरुको गतिविधि निगरानी गर्न सजिलो पर्ने बताइएको छ ।