काठमाडौँ । चीन सरकारले नेपाललाई ५ लाख डोज कोरोना भाइरसविरुद्धको खोप अनुदान सहयोगमा गर्ने भएको छ ।
परराष्ट्र मन्त्री प्रदीप ज्ञवाली र चिनियाँ समकक्षी वाङ यीबीच शुक्रबार साँझ भएको टेलिफोन वार्ताका क्रममा चिनियाँ मन्त्री तथा स्टेट काउन्सिलर वाङले सो सहयोगको घोषणा गर्नु भएको हो ।
परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीसँगको टेलिफोन संवादमा चीनका विदेश मन्त्री वाङ यीले उक्त अनुदानको दिने बताएको परराष्ट्र मन्त्रालयले जनाएको छ । परराष्ट्र मन्त्रालयका अनुसार परराष्ट्र मन्त्री ज्ञवालीसँगको कुराकानीमा चीनका विदेश मन्त्री वाङले खोप सहयोगका विषयमा नेपाललाई प्राथमिकतामा राख्ने पनि बताउनुभएको छ ।

सो सहयोगका लागि परराष्ट्र मन्त्री ज्ञवालीले चीन सरकारलाई धन्यवाद दिनुका साथै कोभिड खोपलाई विश्वकै सार्वजनिक वस्तुको रुपमा उपलब्ध गराउने चिनियाँ अवधारणाको प्रशंसा गर्नुभएको थियो ।
चीनले यसअघि नेपाललाई ३ लाख डोजको कोरोना खोप अनुदान सहयोग गर्ने बताएको थियो ।




















