काठमाडौं । मिस युनिभर्स नेपाल २०२० अन्शिका शर्माले जितेकी छिन् । अष्ट्रेलिया निवासी २४ वर्षीया शर्माले होण्डा नेपालले प्रस्तुत गरेको मिस युनिभर्स नेपाल २०२० को उपाधि हात पारेकी हुन् ।
साथै उनले १० लाख रुपैयाँको नगद पुरस्कार र अपला ज्वेलर्सको तर्फबाट १५ लाख रुपैयाँ बराबरको क्राउन जित्नुका साथै मिस युनिभर्सको मञ्चमा नेपालको प्रतिनिधित्व गर्ने मौका पनि हासिल गर्नेछिन् । मिस युनिभर्स २०२१ को अप्रिल वा मे महिनामा हुने बताइएको छ ।
त्यस्तै मिस युनिभर्स नेपाल २०२० को पहिलो, दोस्रो, तेस्रो र चौथो उपविजेताको स्थान क्रमशः सुजिता बस्नेत, नीना कान्त मण्डल, दिक्ता थापा र न्यान्सी खड्काले हासिल गरेका छन् ।
त्यसैगरी नीना कान्त मण्डलले मिस ब्रेभ बोल्ड ब्युटिफुलको उपशीर्षक हासिल गरिन् भने सुजिता बस्नेतले व्यञ्जन मिस लाइफस्टाइल, अन्शिका शर्माले मिस फियर्स र न्यान्सी खड्काले मिस फ्याबुलसको उपशीर्षक हासिल गरिन् । उत्कृष्ट १८ सहभागीले स्विमसुट लगाएर आफ्नो परिचय दिँदै उत्कृष्ट १० मा पुगेर सबै जनाको प्रशंसा पाउन सफल भएका थिए । नीना कान्त मण्डलले भने ब्रेभ, बोल्ड र ब्युटिफुल सोसल एड्भोकेसी उपाधि हासिल गरेर उत्कृष्ट १० मा आफ्नो स्थान पहिले नै सुरक्षित गरेकी थिइन् । स्विमसुट राउण्डपश्चात् फिनालेमा निर्णायकहरुले उत्कृष्ट १० मा ५ जना सहभागीहरु छनोट गरे भने बाँकी ४ भने दर्शकको भोटबाट छनोट गरिएको थियो ।
उत्कृष्ट ५ को लागि भोटिङ भइरहेको बेला उत्कृष्ट १० भने प्रश्न–उत्तर राउण्डमा एक अर्कालाई कडा प्रतिस्पर्धा दिइरहेका थिए । अगाडिको राउण्डमा जस्तै गरी निर्णायकहरुले उत्कृष्ट ५ को लागि उत्कृष्ट ३ को छनोट गरे र बाँकी २ जनाले लाइभ सर्वाधिक भोटको आधारमा छनोट गरिएको थियो । सुन्दर इभिनिङ गाउनमा सु–सज्जित भएर उत्कृष्ट ५ ले अर्को प्रश्नहरु उत्तर दिए, जसको आधारमा यस प्रतिस्पर्धाको विजेता र उपविजेताको छनोट गरियो, जुन पूर्णरुपले निर्णायकहरुले दिएको अंकको आधारमा छनोट गरिएको थियो ।
हप्तौँदेखिको भर्चुअल तालिम र प्रतिस्पर्धापश्चात् मिस युनिभर्स नेपाल २०२० को फिनाले काठमाडौंको मेरिएट होटेलमा सम्पन्न भएको हो । ब्रेभ, बोल्ड एण्ड ब्युटिफुल प्रालिद्वारा मिस युनिभर्स नेपाल २०२० को आयोजना गरिएको हो ।