काठमाडौँ । मौलिक कथामा जीवन्त अभिनय गर्ने नेपालकै पहिलो ‘रियालिटी शो’ कथाकुथुङ्ग्री च्याम्पियनको अडिसन आइतबारदेखि शुरु भएको छ ।
सूचना चौतारी सञ्चार सहकारी संस्था लिमिटेडको आयोजनामा हुने ‘रियालिटी शो’ कथाकुथुङ्ग्री च्याम्पियनको आइतबार एक कार्यक्रमका बीच औपचारिक घोषणा गरिएको हो । शोमा अनलाइन माध्यमबाट अडिसन लिएर सातै प्रदेशका सहभागीबीच प्रतिस्पर्धा गराइने छ । कथाकुथुङ्ग्री च्याम्पियनमा भाग लिन अनलाइनमाध्यमबाट फारम भरी पठाउने व्यवस्था मिलाइएको आइतबार आयोजित पत्रकार सम्मेलनमा जानकारी दिइयो ।
कथाकुथुङ्ग्री च्याम्पियन ‘रियालिटि शो’ को राष्ट्रिय सहकारी विकास बोर्डका सह–अध्यक्ष दक्ष पौडेलले औपचारिकरुपमा घोषणा गर्नुभएको हो । देशका कुनाकाप्चामा लुकेर बसेका कला संस्कृतिलाई जगेर्ना गर्नका लागि कथाकुथुङ्ग्री च्याम्पियन कोशेढुङ्गा सावित हुने विश्वास उहाँले व्यक्त गर्नुभयो ।
नाट्य निर्देशक विमल सुवेदीले अहिलेको अवस्थामा कथाकुथुङ्ग्री च्याम्पियन ‘रियालिटि शो’ समयको माग भएको बताउँदै यसलाई प्रभावकारी बनाउन सबै नाट्य समूहलगायत कलाप्रेमी एकजुट भएर लाग्नुपर्नेमा जोड दिनुभयो । राष्ट्रिय सहकारी महासङ्घका सञ्चालक राजेन्द्र पौडेलले नाट्य अभियानलाई सफल पार्न सम्पूर्ण सहकारी क्षेत्र लाग्नुपर्नेमा जोड दिनुभयो । सामाजिक अभियानकर्मी रिता परियारले सबै क्षेत्रका व्यक्तिका लागि एकै स्थानमा अटाउने मञ्च कथाकुथुङ्ग्री च्याम्पियन ‘रियालिटि शो’ भएको बताउनुभयो ।
पछिल्लो समय विश्वभर कोभिड–१९ ले जनजीवनलाई प्रभावित पारेको विषम परिस्थितिलाई मध्यनजर गर्दै अभिनय कलामा रुची राख्ने व्यक्तिलाई कथा वाचनमार्फत् कला प्रस्तुत गर्ने मञ्च निर्माण गरिएको कार्यक्रम संयोजक चन्द्रप्रसाद पाण्डेले बताउनुभयो ।
कथाकुथुङ्ग्री च्याम्पियनमा सहभागी हुनेलाई अनलाइन अभिमुखीकरण कार्यक्रम पनि सञ्चालन गर्ने तयारी रहेको उहाँले सुनाउनुभयो । कोरोना कालमा बन्द रहेको रङ्गमञ्च, चलचित्र क्षेत्रका लागि वैकल्पिक मञ्चको रुपमा कथाकुथुङ्ग्री च्याम्पियन शो शुरु भएको जनाइएको छ ।
विभिन्न चरण पार गर्दै प्रतिस्पर्धाबाट छनोट हुने उत्कृष्ट सहभागीलाई आकर्षक पुरस्कारको समेत व्यवस्था गरिएको छ । प्रथम हुनेलाई रु दुई लाख, द्वितीयका लागि रु एक लाख ५० हजार र तृतीय हुनेलाई रु ५० हजार नगदसहित अन्य आकर्षक पुरस्कारको व्यवस्था मिलाइएको सहकारी संस्थाका अध्यक्ष विपिन शर्माले जानकारी दिनुभयो ।
कार्यक्रम सफल बनाउन विभिन्न नाट्य समूह, सहकारी सङ्घसंस्था, शैक्षिक सङ्घसंस्थाको सहकार्यमा सम्पन्न गर्ने तयारी रहेको शर्माले बताउनुभयो । अनलाइन अडिसनबाट पहिलो चरणको प्रतिस्पर्धा शुरु हने नेपालकै पहिलो ‘रियालिटी शो’ कथाकुथुङ्ग्री च्याम्पियनमा निर्णायक मण्डलमा वरिष्ठ कलाकार लक्ष्मी गिरी, रङ्गकर्मीद्वय आरके मेहता र सरिता साह हुनुहुन्छ ।
विविध जाति, भाषाभाषी र संस्कृतिले सम्पन्न मुलुकमा कथाको कुनै कमी नभएकाले पूर्व मेचीदेखि पश्चिम महाकालीसम्म, हिमालदेखि तराईसम्म, रोजगारीको लागि घरदेश छोडेर परदेश गएकाहरुसम्म सबैले प्रतियोगितामा भाग लिन पाउने कथाकुथुङ्ग्री च्याम्पियनका परिकल्पनाकार प्रकाश थापाले बताउनुभयो ।
ओझेलमा परेका, छेकिएका, नदेखिएका सातै प्रदेशका कथा र प्रतिभालाई प्रकाशमा ल्याउन चाहेको र मुलुकको सामाजिक, सांस्कृतिक, भौगोलिक मौलिकताको परिचय स्थापित गर्ने अभियानको नाम कथाकुथुङ्ग्री च्याम्पियन भएको उहाँले बताउनुभयो ।