काठमाडौँ । कोभिड–१९ का कारण कार्यतालिकाको निर्धारित अवधिभन्दा केही ढिला भएको नागढुङ्गा सुरुङमार्ग निर्माणले पुनः गति लिन थालेको छ ।
जापानी निर्माण कम्पनी हाजमा आङदो कर्पाेरेशनले सुरुङका लागि आवश्यक तयारी गरिरहेकाले आगामी मङ्सिर ९ गतेबाट खन्न थालिने भएको छ । गत चैतदेखि नै कोरोनाका कारण काम सुस्त भएकामा पछिल्लो समय गति लिइरहको नागढुङ्गा सुरुङमार्ग निर्माण आयोजनाले जनाएको छ । नेपालको पहिलो आधुनिक उक्त सुरुङमार्ग अहिले निर्माणका लागि आवश्यक जनशक्ति र उपकरण दुवै भएकाले काम धमाधम भइरहेको आयोजना प्रमुख नरेशमान शाक्यले बताउनुभयो ।
पश्चिम (धादिङ जिल्लातर्फ) सुरुङ खन्नका लागि आवश्यक तयारी भइरहँदा पूर्व(काठमाडौँ) तर्फ पनि जग्गा अधिग्रहणलगायतका काम अघि बढाइएको छ । सुरुङ खन्ने ठाउँमा पहिल रसायन हाल्नुपर्ने भएकाले रसायनले जमाएपछि त्यहाँ स्टिलको फ्रेम हालिने जनाउँदै उहाँले भन्नुभयो, “फ्रेम हालेको ८/१० दिनपछि नै खन्न शुरु गर्न सकिन्छ ।” आयोजना निर्माण स्थानमा माटो सम्माउने र पहुँच हुने सडक निर्माण पनि सुरुङसँगै अघि बढिरहेको प्रमुख शाक्यले बताउनुभयो । एउटा काम सकेपछि अर्काे शुरु गर्दा ढिलाइ हुने भएकाले गर्न सकिनेसम्म काम सँगसँगै भइरहेको उहाँले जानकारी दिनुभयो ।
निर्माणस्थलमा अहिले आवश्यक पर्ने ९८ प्रतिशत उपकरण निर्माण कम्पनीले ल्याइसकेको छ । कतिपय निर्माणसामग्री यहीँबाट त कतिपय जापानबाट ल्याइएको छ । निर्माणस्थलमा २० जापानीसहित झण्डै २०० जना कार्यरत छन् । नेपालीमा कतिपय दक्ष र कतिपय अदक्ष गरी दुवै किसिमका जनशक्ति छन् । जापानबाट अझै झण्डै १५ जना आउन लागेको उहाँले जानकारी दिनुभयो । उहाँले भन्नुभयो, “कोभिडका कारण उनीहरुलाई आउन सहज नभएपनि हामीले सहजीकरण गरिरहेका छौँ ।”
कोभिड–१९ कै कारण आयोजना पहिले निर्धारित तालिकाभन्दा झण्डै १६ प्रतिशत पछाडि रहेको छ । पहिले कोरोनाका कारण जापानबाट आउनुपर्ने जनशक्ति आउन नसकेकाले ढिलाइ भएको प्रमुख शाक्यले बताउनुभयो । अहिले जनशक्ति आइरहेको र आवश्यक सामग्री जुटिरहेकाले निर्धारित समयभन्दा ढिलो नहुने उहाँले बताउनुभयो । बाँकी अवधिमा नियमित काम गर्न सके अबको साढे दुई वर्षमा आयोजना सम्पन्न हुनेछ । बन्दाबन्दीका समयमा निर्माण सामग्रीको अभाव रहेको थियो भने धादिङका कतिपय स्थानीय तहले गिट्टी, बालुवालगायतका निर्माण सामग्रीको ढुवानी गर्न दिएका थिएनन् । अहिले स्थानीय तहसँगको समन्वयमा त्यसको समाधान खोजिएको छ ।
नेपालको पहिलो सुरुङमार्ग निर्माण पूर्वाधारमा नयाँ आयामसँगै यहाँका प्राविधिक जनक्तिका लागि सिक्ने अवसर पनि भएको छ । निर्माण कम्पनीलाई सहायक कम्पनी छान्दा सकेसम्म धेरै वटा छानेर धेरैले सिक्ने अवसर दिन भनिएको उहाँले बताउनुभयो । सडक विभागका इञ्जिनीयरले पनि यहाँबाट सिकिरहेका छन् । उहाँले भन्नुभयो, “निर्माणस्थलमा कसरी काम भइरहेको छ भनी नियमित बिफ्रिङ पनि हुने गर्छ ।” धादिङतर्फ अहिले जग्गा अधिग्रहण भइसकेको छ । निर्माणस्थलमा रहेका झण्डै १३ घरहरु भत्काउन बाँकी छ । घरधनी आफैँले दशैँतिहार पछि आफैँ भत्काउने भनेको प्रमुख शाक्यले बताउनुभयो । काठमाडौँको बलम्बुमा ‘फ्लाई ओभर’ निर्माण हुने स्थानमा जग्गा अधिग्रहण गर्न बाँकी छ । आयोजनाअन्तर्गत नै कर्लभ पुल, खानेपानीको ट्ङ्याकी निर्माण र पहुँच सडक निर्माणको काम पनि अघि बढिरहेको छ ।
सिस्नेखोलालाई स्थानान्तरण गरेर सो स्थानमा माटोले पुर्ने काम पनि अघि बढाइएको छ । उहाँले भन्नुभयो, “आयोजनाअन्तर्गत गर्नुपर्ने सानाठूला काम एकसाथ अघि बढिरहेको छ ।” निर्माणस्थलमा झण्डै नौ सय टन विस्फोटक पदार्थ आवश्यक पर्नेमा तीन सय टन भारतबाट आउँदैछ । यहाँ अहिले ६० टन मात्रै भण्डारणको क्षमता छ । भण्डारण गर्न सकिने पदार्थ आइरहेको उहाँले बताउनुभयो । गत वर्ष असोजमा कम्पनीको सडक विभागसँग ४२ महिनामा निर्माण सम्पन्न गर्ने गरी ठेक्का सम्झौता भएको थियो । जापान सरकारको ‘सफ्ट लोन’ मा सुरुङको निर्माण गर्ने गरी सम्झौता भएको थियो । सुरुङमार्ग सञ्चालनमा आएसँगै नागढुङ्गा–नौबिसे सडकखण्डमा दैनिकरूपमा हुने सवारी चाप कम हुने अपेक्षा गरिएको छ । त्यस स्थानमा धेरै सवारीसाधन र धेरै व्यक्ति अलपत्र पर्ने गरेकामा त्यसको समाधान हुनेछ । त्यसको समाधानसँगै पेट्रोलियम पदार्थको बचत पनि हुनेछ ।
आयोजनाअन्तर्गत साढे नौ मिटर र चार मिटर गरेर दुईवटा सुरुङको निर्माण हुनेछ । दुई वटा ‘फ्लाइओभर’, एउटा सर्भिस सेन्टर र तीन दशमलव एक किलोमिटर नयाँ सडक निर्माण हुने बताइएको छ । सुरुङमार्गकै मुख र सतुङ्गलमा ‘फ्लाइओभर’ बनाउन लागिएको छ । अन्तर्राष्ट्रिय मापदण्डअनुसार एउटा लेनको चौडाइ साढे तीन मिटर हुन्छ । तीन लेन नपुगे पनि मुख्य सुरुङमार्गमा तीनवटा सवारी साधन सहज आवतजावत गर्न सक्नेछन् । एउटा गाडी बिग्रँदा पनि दुईवटै गाडी चल्न सक्नेछन् । सहायक सुरुङ तत्काल उद्धारका लागि हुने बताइएको छ । ठाउँठाउँमा मुख्य सुरुङबाट सहायक सुरुङ प्रवेशद्वार बन्नेछ । सुरुङमार्ग खन्दा आएका मजबुत ढुङ्गा र माटो त्यहीँ निर्माणका क्रममा प्रयोग हुनेछ । कमजोर ढुङ्गा माटोलाई भने सिस्नेखोलामा भरेर सोही स्थानमा ‘सर्भिस सेन्टर’ निर्माण गरिनेछ । सो स्थानमा बसपार्क र तरकारी सङ्कलन केन्द्रलगायतका स्टल हुनेछ । निर्माण सम्पन्न हुनासाथ केन्द्र धुनिबेँसी नगरपालिकामा नै हस्तान्तरण गर्ने योजना छ ।
प्रधानमन्त्री केपी शर्मा ओलीका विकास विज्ञ (सल्लाहकार) गजेन्द्र थपलियाले प्रधानमन्त्री ओलीले यस आयोजनालाई प्राथमिकता प्राप्तमा राखी विशेष चासो दिनुभएकाले सम्बन्धित निकायले समयमै काम गर्ने अपेक्षा गर्नुभयो ।
–सञ्चिता घिमिरे / रासस