काठमाडौं । नेकपा एमालेका नेता तथा पूर्व प्रमुख सचेतक महेश बर्तौलाले प्रतिनिधिसभाको पछिल्लो निर्णयले संसद्को लोकतान्त्रिक चरित्र, प्रतिपक्षको भूमिका तथा सभामुखको निष्पक्षतामाथि गम्भीर प्रश्न उठाएको बताएका छन् ।
सामाजिक सञ्जालमार्फत धारणा सार्वजनिक गर्दै बर्तौलाले रामबहादुर थापा ‘बादल’ ले प्रतिनिधिसभा बैठकमा व्यक्त गरेका भनाइ संसद्को रेकर्डबाट हटाउने सभामुखको रुलिङ “चयनमुखी” देखिएको टिप्पणी गरेका हुन् ।
उनले संसदीय व्यवस्थामा प्रतिपक्षको मुख्य दायित्व सरकारलाई खबरदारी गर्ने, प्रश्न उठाउने र जनताको आवाज बोल्ने भएको उल्लेख गर्दै प्रतिपक्षले सत्तापक्षलाई मनपर्ने कुरा मात्रै नभई सरकारका कमजोरीमाथि कठोर आलोचना पनि गर्ने बताएका छन् ।
“यदि प्रतिपक्षका सांसदहरूले बोलेका विषयहरू राजनीतिक दबाब वा सत्ताको चाहनाअनुसार हटाइने अवस्था बन्छ भने त्यसले संसद्लाई खुला बहसको थलोभन्दा नियन्त्रणको संरचनातर्फ धकेल्ने खतरा पैदा गर्छ,” बर्तौलाको भनाइ छ ।
उनले सांसदको अभिव्यक्ति संसद्को रेकर्डबाट हटाउँदा नियमावलीको कुन व्यवस्था अन्तर्गत कुन शब्द वा अभिव्यक्ति असंसदीय ठहरिएको हो भन्ने कुरा सभामुखले स्पष्ट रूपमा उल्लेख गर्नुपर्ने धारणा राखेका छन् । तर पछिल्लो रुलिङमा त्यस्तो स्पष्टता नदेखिएको उनको आरोप छ ।
बर्तौलाले सभामुखबाट सदैव तटस्थता, निष्पक्षता र समान व्यवहारको अपेक्षा गरिने भए पनि संसद्को गरिमा र मर्यादामाथि असर पर्ने प्रधानमन्त्रीको व्यवहारप्रति कठोरता नदेखाई प्रतिपक्षी सांसदका अभिव्यक्तिमाथि तत्काल रुलिङ गर्ने प्रवृत्तिले सभामुखको साझा भूमिकामाथिको विश्वास कमजोर बनाएको उल्लेख गरेका छन् ।
उनले संसद् संवाद, असहमति र आलोचनाको साझा मञ्च भएकाले त्यसलाई नियन्त्रणको माध्यम बनाउने प्रयासले संसदीय द्वन्द्व र अविश्वासलाई अझ गहिरो बनाउने चेतावनी दिएका छन् । लोकतन्त्रको स्वास्थ्यका लागि संसद्भित्र सरकारमाथिको खबरदारीपूर्ण आवाजलाई स्थान दिनु, नियमावलीको निष्पक्ष प्रयोग गर्नु तथा सभामुखको विश्वसनीयता कायम राख्नु आवश्यक रहेको उनको भनाइ छ ।




















