काठमाडौँ । प्रधानमन्त्री बालेन्द्र शाह (बालेन) ले सरकारको नीति तथा कार्यक्रममाथि उठेका प्रश्नको जवाफ नदिने भएका छन् । उनी आज पनि संसद वैठकमा गएका छैनन् ।
उनको अनुपस्थितिमा आजको संसद् बैठकमा अर्थमन्त्री स्वर्णिम वाग्लेले सांसदले उठाएका प्रश्नको जबाफ दिनेगरी संसद् सचिवालयले कार्यसूची तयार पारेको छ।
हिजो संसद् सचिवालयले प्रधानमन्त्री बालेनले सांसदका प्रश्नको जबाफ दिने कार्यसूची सार्वजनिक गरे पनि पछि बालेन संसद्मा उपस्थित नै नभएपछि सबै विपक्षी सांसदले त्यसको चर्को विरोध गरेका थिए।
बुधबार सभामुख डोलप्रसाद अयालले विपक्षी दललाई थामथुम पारेर संसद् बैठक अघि बढाउने पटकपटक प्रयास गरे पनि सफल भएका थिएनन् । वैठकमा प्रधानमन्त्री नगए पनि आज वैठक सुरु भएको छ । विपक्षी सांसदहरुले नीति कार्यक्रममा सांसदहरुका कुरा सुन्नुपर्ने र जवाफ दिनुपर्ने माग गरेका छन् ।




















