काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले प्रधानमन्त्री बालेन्द्र शाह (बालेन) संसद्मा उपस्थित नभएसम्म आफ्नो विरोध जारी रहने चेतावनी दिएको छ ।
प्रतिनिधिसभाको बैठकमा बोल्दै कांग्रेसका सचेतक निश्कल राईले प्रधानमन्त्रीको अनुपस्थितिप्रति आपत्ति जनाउँदै सभामुख डोलप्रसाद अर्याललाई यस विषयमा गम्भीर बन्न आग्रह गरे ।
राईले सभामुख संसद्को संरक्षक र अभिभावक भएकाले प्रधानमन्त्रीलाई सदनमा उपस्थित गराउन सक्रिय भूमिका खेल्नुपर्ने बताए ।
‘फेरि पनि आग्रह गर्छु, तपाईं हाम्रो अभिभावक हो, संसद्को संरक्षक हो । यस विषयमा हजुर गम्भीर बन्नुपर्छ,’ उनले भने, ‘यदि प्रधानमन्त्रीज्यू उपस्थित हुनुभएन भने हाम्रो विरोध जारी रहनेछ ।’
प्रधानमन्त्रीको लगातार अनुपस्थितिलाई उनले संसदीय व्यवस्थाप्रतिको उदासिनताको संज्ञा दिएका छन् ।
‘आज परिस्थिति यस्तो बनेको छ कि गुरुकुल र विश्वविद्यालय बंक गरेझैँ सदनलाई पनि बेवास्ता गर्न थालिएको छ,’ राईले भने, ‘संसद्जस्तो गरिमामय संस्थालाई बेवास्ता गर्नु दुखद मात्रै होइन, संसदीय व्यवस्थाप्रतिको उदासिनता पनि हो ।’
सत्तापक्षका सांसदहरूले यस विषयलाई सामान्य बनाउने प्रयास गरिरहेको भन्दै उनले असन्तुष्टि समेत व्यक्त गरे ।




















