काठमाडौँ । भारतको उत्तर प्रदेशमा बुधबार आएको भीषण आँधीबेहरी र अविरल वर्षाले ठूलो जनधनको क्षति भएको छ। विभिन्न जिल्लामा प्राकृतिक विपत्तिका कारण हालसम्म ९६ जनाको मृत्यु भएको भारतीय सञ्चारमाध्यमहरूले जनाएका छन् भने ५० भन्दा बढी व्यक्ति घाइते भएका छन्।
सबैभन्दा बढी प्रभाव वाराणसी, प्रयागराज र कानपुर डिभिजनमा परेको बताइएको छ। तीव्र गतिमा चलेको हुरीका कारण ठाउँ–ठाउँमा रुख र बिजुलीका पोल ढलेका छन् भने ग्रामीण क्षेत्रमा माटोका घर, टिनका छाना र बालीनालीमा व्यापक क्षति पुगेको छ।
रुख ढलेपछि धेरै स्थानमा यातायात सेवा समेत प्रभावित बनेको छ।
मृत्यु हुनेमध्ये भदोहीमा १८, प्रयागराजमा १७, मिर्जापुरमा १५, फतेहपुरमा १०, उन्नाव र बदाउँमा ६/६, प्रतापगढ र बरेलीमा ४/४ जनाको ज्यान गएको छ। त्यस्तै सीतापुर, रायबरेली, चन्दौली, कानपुर देहात, हरदोई र सम्भलमा दुई/दुई तथा कौसाम्बी, शाहजहाँपुर, सोनभद्र र लखीमपुर खेरीमा एक/एक जनाको मृत्यु भएको जनाइएको छ।




















