धनगढी । शनिवार राति नेपाल–भारत सीमा क्षेत्रमा नियमित गस्तीमा गएका बेला हराएका प्रहरी जवानको शव नदी भित्र गाडेको अवस्थामा फेला परेको छ ।
धनगढी उपमहानगरपालिका–१२ जुगेडास्थित अस्थायी प्रहरी पोष्टमा कार्यरत प्रहरी सहायक निरीक्षक गोविन्द बिक र प्रहरी जवान रामबहादुर साउँद राति साढे १० बजेबाट सम्पर्कविहीन भएका थिए ।
आइतबार बिहान मोहना नदीमा बिकको शव फेला परेको थियो भने दुई दिन पछि आज नदीभित्र शव गाडिएको अवस्थामा फेला पारेका जिल्ला प्रहरी कार्यालय कैलालीले जनाएको छ ।
मृतक साउँदको शरीरको अन्य भाग बालुवाले छोपिए पनि खुट्टा भने पानीभित्र देखिएको अवस्थामा फेला परेको प्रहरीले जनाएको छ ।
घटना भएको स्थानमा देखिएको दृश्य र फेला परेको प्रमाण अनुसार दुवै जनाको अन्यत्र हत्या गरेर नदीमा फालिएको निष्कर्ष प्रहरीको छ । आपराधिक समूहले दुवै जना प्रहरीको हत्या नजिकको उखुबारीमा गरेको प्रहरी अनुमान छ ।
घटना भएको क्षेत्र तस्करीको ट्रान्जिट प्वाइन्ट मानिन्छ । नजिक रहेको भारतीय पारासरिया, सुडा, बनगटी बजारबाट विभिन्न सामान तस्करी हुँदै आएको छ ।
स्थानीय तस्करले तस्करी गरेर ल्याउँदै गरेको सामान अस्थायी प्रहरी चेकपोष्टले पक्राउ गरेको चार दिनपछि सो घटना भएकाले दुवै प्रहरीको तस्कर समूहले नै निर्ममतापूर्व हत्या गरेको प्रहरीले निष्कर्ष निकालेको छ ।
हत्याबारे अनुसन्धान गर्न प्रहरीले घटना भएको आसपास गाउँका १६ जनालाई नियन्त्रणमा लिएर अनुसन्धान गरिरहेको जनाएको छ ।



















