काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले कोभिड–१९ प्रतिकार्य, रोकथाम र नियन्त्रण, शब व्यवस्थापन तथा बिपदका विभिन्न घटनाहरुमा उद्धार तथा सहयोगमा नेपाली सेनाले खेलेको भुमिको प्रशंसा गर्नु भएको छ ।
आजबाट शुरु भएको ‘पृतनापति समन्वयात्मक बैठक २०७७’ को भर्चुअल माध्यमबाट उद्घाटन गर्दै प्रधानमन्त्री ओलीले हालसालै नेपाली सेनाले सम्पन्न गरेको घाँटिबगर देखी छाँग्रु सम्मको गोरेटोरघोडेटो बाटो निर्माणको पनि प्रशंसा गर्नु भएको छ ।
साथै वहाँले नेपाली सेनाको आधुनिकिकरण योजना तथा आर्थिक अनुशासनको कायमी र प्रणाली र पद्धतीको कार्यान्वयनमा नेपाल सरकारको पूर्ण सहयोग र समर्थन रहने प्रसंग समेत उल्लेख गर्नु भएको छ ।
रक्षा मन्त्रालयको समेत कार्यभारत सम्हालनु भएका प्रधानमन्त्री ओलीले राष्ट्रिय सुरक्षाको गम्भिरता र संवेदनशिलतालाई मध्यनजर गर्दै यस्ता विषयहरुमा नियमीत अन्तरक्रिया भईरहनु पर्ने र यस्तो छलफलबाट महत्वपूर्ण निश्कर्षहरु निस्कने बिश्वास व्यक्त गर्नु भएको छ ।

त्यस्तै प्रधानसेनापति महारथी पुर्णचन्द्र थापाले प्रधानमन्त्री ओलीको सारगर्भित शुभारम्भ मन्तब्यको लागि हार्दिक आभार व्यक्त गर्दै कोभिड–१९ महामारीका कारण सृजित अन्यौलता एवं निराशा तथा आर्थिक गतिविधिमा देखिएको सुस्तताका कारण उत्पन्न हुनसक्ने चुनौतिहरुको सामना गर्ने गरि आगामी कार्ययोजनाको निर्माण गर्न यो समन्वयात्मक बैठक उपयोगी हुने विश्वास व्यक्त गर्नु भएको छ ।
कार्यक्रमको शुभारम्भमा बलाधिकृत रथी प्रभुराम शर्माले स्वागत मन्तव्य राख्नु हुदैं नेपाल सरकार तथा रक्षा मन्त्रालयबाट सकारात्मक सहयोग प्राप्त भईरहेको र यस्तै सहयोग भविष्यमा पनि निरन्तर भइरहने अपेक्षा राखेको बताउनु भएको थियो ।

समन्वयात्मक बैठकको क्रममा सहभागी महानिर्देशनालय, निर्देशनालय, कार्यालय र विभागका प्रमुखहरु तथा पृतनापतिहरुले आ–आफ्नो जिम्मेवारी क्षेत्रको कार्य समिक्षा, वर्तमान वस्तुस्थिति, भविष्यमा आईपर्न सक्ने चुनौतीहरु एवम् सुझावहरुको सम्बन्धमा प्रस्तुतिकरण गर्नुहुने कार्यक्रम रहेको छ ।
समन्वयात्मक बैठक र आपसी अन्तरक्रिया पश्चात प्राप्त हुने राय सुझावहरुले आगामी दिनहरुमा नेपाली सेनाको महत्वपूर्ण नीति तथा योजना निर्माणमा ठोस योगदान पुर्यारउने विश्वास लिइएको नेपाली सेनाले जनाएको छ ।
कात्तिक ४ गते सम्म सञ्चालन हुने भर्चुअल वैठकको उद्घाटन कार्यक्रममा रक्षा सचिव तथा जङ्गी अड्डाका रथीबृन्दको उपस्थिती रहेको थियो ।
सम्मेलनमा मुलुकको समग्र शान्तिसुरक्षाका साथै कोभिड–१९ प्रतिकार्यमा प्राप्त भइरहेको सफलता, आकलन र भावी रणनीतिबारे समीक्षा हुनेछ ।
प्रत्येक ६/६ महिनामा नियमितरुपमा हुने यस पटकको तीनदिने उक्त सम्मेलन भर्चुअल माध्यमबाट हुने छ । सेनाका आठ पृतनापतिले सम्मेलनका क्रममा तत्तत्स्थानबाट आआफ्ना कार्य क्षेत्रमा भएगरेका उपलब्धि, देखिएका चुनौती र समाधानका लागि चालिनुपर्ने कदमबारे रायसुझावसहितको प्रस्तुतीकरण गर्ने सैनिक प्रवक्ता सन्तोषबल्लभ पौडेलले जानकारी दिएका छन् ।
सेनाको पूर्वी कामु पृतनापतिमा सन्तोष ढकाल, मध्यपूर्वीपृतनापतिमा सुरेश कार्की, मध्यपृतनापतिमा ताराध्वज पाण्डे, उपत्यका पृतनापतिमा आनन्दकुमार अधिकारी, पश्चिम पृतनापतिमा गोकुल भण्डारी, मध्यपश्चिम पृतनापतिमा सञ्जय थापा, उत्तरपश्चिम पृतनापतिमा विज्ञानदेव पाण्डे र सुदूरपश्चिम पृतनापतिमा निर्मलकुमार थापा छन् । उपरथीको नेतृत्वमा रहने सेनाका पृतना इटहरी, धनुषा, हेटौंँडा, काठमाडौँ, पोखरा, बुटवल, सुर्खेत र धनगढीमा छन् ।




















