काठमाडौं । कलाकार, गीतकार तथा सामाजिक अभियन्ता भूमिका सुब्बाको नयाँ गीत ‘वनचरी’ हालै सार्वजनिक भएको छ । मालिङ्गो सैसै, भूमिका र संगिनी गरेर तीनवटा सोले एल्बम ल्याइ सक्नु भएकी भूमिकाका आधादर्जन भन्दा बढी संयुक्त गीति संग्रह सार्वजनिक भएका छन् ।
बाल्यकालबाटै कलाकारिता क्षेत्रमा लागेकी सुब्बा नेपाल जनसांस्कृतिक महासंघकी केन्द्रीय कोषाध्यक्षसमेत रहेकी छिन् । सुब्बाको परिचय जनवादी गायिकाको रुपमा पनि छ । पछिल्लो समय उनी गीत लेखनमा लागेकी हुन् । त्यसैको निरन्तरता नै हो ‘बनचरी’ ।
गीतमा एउटी छोरीले जन्मदिने आमाप्रति दर्शाउने अगाधप्रेम र माइतीगाउँको ‘नोस्टाल्जिया’लाई प्रस्तुत गरिएको गीतकार सुब्बाले बताएकी छिन् ।
एउटी नारीको जीवनयात्रालाई समेटिएको ‘वनचरी’ गीतमा चर्चित गायिका एलिना चौहानको स्वर छ भने पछिल्लो समय म्युजिक भिडियोमा सर्वाधिक रुचाइएकी लक्ष्मी वर्देवाले जीवन्त अभिनय गरेकी छिन् । आमाको रुपमा अञ्जु देउजाले साथ दिएकी छिन् ।
साजन राईको संगीत रहेको भिडियोलाई किरण चाम्लिङ राईले निर्देशन गरेका छन् । बिजू कर्मचार्यले एरेन्ज गरेको गीत भर्जिन भ्वाईसको स्टुडियोमा रेकर्ड गरिएको हो । भूपेन्द्र तुम्बाहाङ्फेले छायाँकन गरेको भिडियोमा काठमाडौं उपत्यकाका आसपासको ग्रामीण दृश्यहरु समेटिएका छन् ।
चाडपर्व नजिकिँदै गर्दा एउटी छोरीले माइतीगाउँ र जन्मदिने आमा सम्झिएर बनचरीजस्तै स्वतन्त्र भइ आमालाई भेट्न माइतीघर जाने भाव गीतमा अभिव्यक्त गरिएको छ ।
https://youtu.be/7FuOUtfV7P0