सिन्धुपाल्चोक । जिल्लाको जुगल गा.पा. वडा नं. २ नाम्फा देखि करिब १ कि.मि. माथि र वडा नं.२ सञ्च गाउँभन्दा करिब २०० मि. तल १७x१३x१२ क्यु. फिट आयतनको एउटा विशाल ढुङ्गा नेपाली सेनाले हटाएको छ । २०७२ सालको भुकम्पको कारण आफ्नो पहिलेको स्थानबाट केही मात्रामा सरी तल होचो भु–भागमा झर्ने अवस्थामा रहेको थियो ।
त्यस स्थानको जमिन प्राकृतिक रुपमा निकै खुकुलो रहेको हुँदा वर्षा लगायत अन्य कुनै कारणबाट आफ्नो स्थान छोडेको खण्डमा जुगल गा.पा. वडा नं. २ अन्तर्गत रहेको सान्चो, नाम्फा ठूलो र नाम्फा सानो गाउँमा गम्भिर मानविय र भौतिक क्षति पर्याउनुका साथै बलेफी खोला थुनिन गई निर्माणाधिन बलेफी हाईड्रो पावर प्रोजेक्टलाई समेत ठुलो असर पार्ने निश्चित थियो ।
ढुङ्गाका कारण नाम्फा गाउँको १४९ र सञ्च गाउँका ११५ घरहरुमा भौतिक तथा मानवीय क्षति हुने प्रवल सम्भावना रहेकाले स्थानियवासीहरुमा डर एवं त्रासको अवस्था रहेको थियो ।

आश्विन ०६ गते बसेको जिल्ला विपद् व्यवस्थापन समिति, सिन्धुपाल्चोकबाट अनुरोध भए अनुसार संभावित जोखिमलाई न्यूनिकरण गर्न जिल्लामा तैनाथ गोरख बक्स गण, कालीसिद्धि गण (ईन्जिनियरिङ्ग) तथा माथिल्लो बलेफि ‘ए’ हाईड्रोपावरका प्राविधिकहरुको समन्वयमा उक्त ढुङ्गालाई सुरक्षित रुपमा हटाउनका लागि विस्तृत योजना तयार गरिएको थियो । जसलाई ‘अपरेशन नाम्फा बचाउँ’ नाम दिइएको थियो ।
आश्विन १२ गतेबाट कार्य आरम्भ गरिएको उक्त प्रयासमा Rotary Drill र विष्फोटक पदार्थको सन्तुलित मात्रा प्रयोग गरी आश्विन २३ गते सुरक्षित रुपमा उक्त ढुङ्गा हटाउने कार्य सफलताका साथ सम्पन्न भएको नेपाली सेनाले जनाएको छ । उक्त कार्यमा ३३५ के.जी. विष्फोटक पदार्थ लगायत अन्य सामाग्री प्रयोग भएको बताइएको छ ।

उक्त जोखिमपूर्ण विशाल ढुङ्गा सुरक्षित रुपमा हटाउन सफल भएकोमा कार्यस्थलमा खटिएका नेपाली सेनाका जवानहरुलाई स्थानीयले सम्मान गरेका छन् । आज स्थानिय जनप्रतिनिधि तथा स्थानियवासीले एक कार्यक्रमको आयोजना गरी उनीहरुलाई सम्मान गरेका हुन ।
उक्त विशाल ढुङ्गाका कारण डर र त्रासमा रहेका नाम्फा तथा आसपासका वासिन्दाहरुको समस्या समाधान गर्ने कार्यमा सहयोग गर्ने स्थानियवासी तथा जनप्रतिनिधिहरु एवं प्राविधिकहरुमा नेपाली सेना आभार प्रकट गरेको छ । साथै नागरिक सैनिक सम्बन्धमा अझ प्रगाढ बनाउन नेपाली सेना सदैव क्रियाशिल रहेको जनसम्पर्क तथा सुचना निर्देशनालय जंगी अड्डाले जनाएको छ ।




















