काठमाडौँ । नेपालमा कोरोना भाइरसका संक्रमित एक लाख कटेका छन् । पछिल्लो २४ घण्टामा २ हजार ५९ जना सङ्क्रमित थपिएसँगै एक लाख कटेको हो ।
आज थपिएका संक्रमितमध्ये काठमाडौं उपत्यकामा मात्रै १ हजार ४०९ जना रहेका छन् । काठमाडौँमा १ हजार ११६, भक्तपुरमा १३० र ललितपुरमा १६३ जना सक्रमित थपिएका हुन् ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा १३ हजार २७९ वटा नमूनाको परीक्षण गरिएको थियो ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार आज थपिएका समेत गरेर नेपाला संक्रमितको संख्या १ लाख ६७६ जना पुगेको छ । संक्रमित मध्ये हाल २७ हजार ५३ जनामा भाइरसको सङ्क्रमण सक्रिय छ । सोही संख्यामा होम र संस्थागत आइसोलेसनमा बसेका छन् । क्वारेन्टिनमा चार हजार ७०३ छन् ।
त्यस्तै पछिल्लो २४ घण्टामा १ हजार ६८० जना कोरोना सङ्क्रमित निको भएर घर फर्केको मन्त्रालयले जनाएको छ । हालसम्म ७३ हजार २३ जना सङ्क्रमित निको भएर घर फर्केका छन् ।
त्यस्तै पछिल्लो २४ घण्टामा १० जनाको कोरोना भाइरसका कारणले मृत्यु भएको छ । योसँगै नेपालमा कोरोना भाइरसका कारण मृत्यु हुनेको संख्या ६०० पुगेको छ ।



















