काठमाडौं । मुलुकमा दैनिक बढिरहेको कोरोना संक्रमित दरका कारण सर्वसाधरण नागरिकहरुमा त्रास निक्कै बढेको छ । बिगत एकहप्ताको तथ्याङ्क केलाउँदा पनि यही कुराको संकेत मिलिरहेको छ । यसरी संक्रमितको संख्या बढनुको अर्को प्रमुख कारण स्वाव परीक्षणको दायारा फराकिलो हुनुका साथै संख्या पनि बृद्धि पनि अर्को कारण बन्नु हो । जसका कारण संक्रमितको संख्या सोचेभन्दा बढी हुन पुगेको अडकलबाजीहरु समाजमा भइरहेका छन् । यो र यस कुरालाई मात्र कारण मानेर अव ढुक्क हुने, उम्कन सकिने, भाग्ने अवस्था र छुट कोही कसैलाई पनि छैन ।
बिश्व स्वास्थ्य संगठनले तोकेको स्वास्थ्य मापदण्ड र नेपाल सरकारले बनाएको कोरोना संक्रमण नियन्त्रण र रोकथाम सम्वन्धी स्वास्थ्य प्रोकोटललाई पालना गर्ने भन्दा पनि उल्लघन गर्नेहरुको संख्या बढ्दो क्रममा रहेको छ । सर्वसाधरण नागरिकले यी नियमको पालना गर्न कञ्जुस्याईं र हेलचेक्राईं गरेका कारण पनि दिनुहुँ संक्रमितहरुको संख्या बढ्न पुगेको स्वास्थ्य मन्त्रालयका अधिकारीहरुको भनाई छ । कोरोना महामारीको संक्रमण नेपालको मात्र समस्या होइन । यसले बिश्वव्यापीरुपमा नै समस्या पारिरहेको छ ।
यो कुरालाई सवैले बुझ्ने र मनन गरेर गाउँघरमा सजिलै उपलव्ध हुने जडिबुटी तथा मसलाका प्रजातीहरु, बेसार, अदुवा, लसुन, चिरा, टिम्वुर, ज्वानो, गुर्जोलगायत घरेलु आयुर्बेदिक औषधितर्फ जोड दिने हो भने पनि केही हदसम्म यो रोग नियन्त्रणमा आउनको लागि सहयोग पुग्न सक्ने संभावनाहरु औल्याइएका छन् । जथाभावी रुपमा बजारमा पाइने जंकफुड उपयोग गर्ने, बिना माक्स हिडडुल गर्ने र स्वास्थ्य सावधानीलाई ख्याल ख्याल सोच्ने र स्वास्थ्यको मापदण्ड पालना नर्गनाले पनि संक्रमितको दर बढ्न पुगेको बताइएको छ ।
सरसफाईमा उचित ध्यान पुर्याउने र साव्दिक भोजनतर्फ पनि जोड दिनु अहिलेको आवश्यकता ठानिएको छ । कोरोना संक्रमण हुन नदिनको लागि प्रशस्त पोसिलो खानेकुराको आवश्यक पर्छ भन्ने नाममा मासुजन्य पदार्थ र जाँड रक्सीको भोजन गर्ने प्रबृत्तिमा अहिले बढोत्तरी भइरहेको पाइएको छ । यसलाई रोक्न, कोरोना संक्रमण नियन्त्रण र रोगथामको लागि समाजमा यस्ता खालका जनसचेतना मुलुक कार्यक्रमहरु संचालन गर्न सके यसले पनि केही हदसम्म सहयोग पुग्न सक्ने बिज्ञहरुले औल्याएका छन् ।
मुलुकमा हाल लक्षणवीहिन संक्रमितहरुको संख्या नै धेरै रहेको पाइएको छ । काठमाडौं बाहिरको तुलानामा संघीय राजधानीमा संक्रमितको संख्या उच्चदरमा बृद्धि भइरहेको छ । एक किसिमले भन्नुपर्दा काठमाडौं उपत्यकामा कोभिड १९ घर घरमा पुगिसकेको अनुमान लगाउन थालिएको छ । हाल मुलुकभरीमा २६ हजार ५ सय ८४ जना सक्रिय संक्रमित रहेकोमा काठमाडौं उपत्यकामा मात्र ५८.३९ अर्थात १५ हजार ५ सय ८३ जना रहेको बताइएको छ ।
नेपालीहरुको महान चाडवाडहरु पनि नजिकिदै छन । यो समयमा आफ्ना घरपरिवार, आफन्तहरुसँग पनि भेटघाट बाक्लो हुने भएकोले पनि अझ संक्रमितको संख्या बढ्न सक्ने अनुमान लगाउन कुनै कठिनाई पर्दैन । सरकारले जुन–जुन ठाँउमा बसोवास गरेको हो सोही ठाउँमा बस्न सर्वसाधरण नागरिकहरुमा अनुरोध गरिसकेको छ । तर सरकारले दिएको आदेशको पालना गर्ने पक्षमा उनीहरु छैनन् । हामीले जति सरकारले तोकेको मापदण्डको पालना गर्दैनौ उति नै संक्रमण महामारी बढने र संक्रमितको संख्या बढने हो । यसका लागि सरकारले तोकेको मापदण्डको पालना गरौं र कोरोना भगाऔं । अहिलेको उत्तम उपाय भनेको यही नै हो ।



















