काठमाडौं । नेपालमा पहिलो पटक कोरोनाबाट चिकित्सकको मृत्यु भएको छ । बिहीबार भेरी अस्पतालका वरिष्ठ चिकित्सक डा. हरि सापकोटाको मृत्यु भएको बाँकेका प्रमुख जिल्ला अधिकारी रामबहादुर कुरुमवांगले बताएका छन् ।
कोरोना सक्रमितको उपचारमा खटिका भेरी अस्पतालका वरिष्ठ चिकित्सक डा. सापकोटाको कोरोनाकै कारण विहीबार दिउँसो मृत्यु भएको प्रजिअ सापकोटाले बताएका हुन ।
२ साताअघि संक्रमण पुष्टि भएका डा. सापकोटालाई सास फेर्न गाह्रो भएपछि नेपालगञ्जको भेरी अस्पतालमा ल्याइएको थियो ।
बिहीबार एक्कासी स्वास्थ्यमा समस्या देखिएपछि भेन्टिलेटरमा राखेर उपचार गर्दा दिउँसो ३ बजेतिर मृत्यु भएको कर्णाली प्रदेश स्वास्थ्य निर्देशनालयका प्रमुख डा. रविन खड्काले जानकारी दिएका छन् ।
डा. सापकोटासंगै बाँकेमा विहिबार एकै दिन तीन जनाको मृत्यु भएको छ । यसअघि विहीबार विहान नेपालगञ्ज मेडिकल कलेज शिक्षण अस्पताल कोहलपुरमा उपचाररत दुई जना संक्रमितको मृत्यु भएको थियो ।
यसैवीच पछिल्लो २४ घण्टामा देशभरमा गरेर ११ जना सङ्क्रमितको मृत्यु भएको छ । यो सँगै नेपालमा कोरोनाभाइरसबाट मृत्यु हुनेको संख्या ५०९ पुगेको छ ।





















