काठमाडौं । नगरकोटस्थित नेपाली सैनिक वार कलेजमा हाईयर कमाण्ड तथा म्यानेजमेन्ट तालिमको शुभारम्भ भएको छ ।
आइतबार बलाधिकृत रथी प्रभुराम शर्माले सो तालिमको भिडियो कन्सफरेन्स मार्फत उद्घाटन गरेका हुन ।
तालिमको उद्घाटनका क्रममा सम्बोधन गर्दै बलाधिकृत रथी शर्माले यस तालिमले सहभागी शिक्षार्थी अधिकृतहरुको पेशागत ज्ञान बढ्न गई समग्र संस्थाको क्षमता अभिवृद्धिमा थप टेवा पुग्नुको साथै जटिल अपरेशनल वातावरणमा समय सापेक्ष निर्णय लिनसक्ने भावि नेतृत्व उत्पादनमा समेत महत्वपूर्ण भूमिका खेल्ने विश्वास व्यक्त गरेका छन् ।
नगरकोटस्थित नेपाली सैनिक वार कलेजमा संचालित उक्त तालिममा ३० जना महासेनानी दर्जाका शिक्षार्थीहरुको सहभागिता रहेको छ । उच्च क्रमका अधिकृतहरुको वृत्ति विकासका लागि आवश्यक यो तालिम नेपाली सेनामा संचालन हुनै सबैभन्दा उच्च तालिम पनि हो । कोभिड-१९ को परिस्थितिलाई मध्यनजर गर्दै पुर्णरुपमा स्वास्थ्य सम्बन्धि सबै सुरक्षात्मक उपायहरु अपनाउंदै सामाजिक दुरी कायम गरी उक्त तालिम संचालन गरिएको जनसम्पर्क तथा सूचना निर्देशनालयले जनाएको छ ।





















