काठमाडौं । पछिल्लो २४ घण्टामा थप १ हजार २ सय ७ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो चौबीस घण्टामा दश हजार १९ जनाको आर टी पीसीआर परीक्षण गरिएकोमा एक हजार २०७ जनामा सङ्क्रमणको पुष्टि भएको हो ।
आज थपिएका नयाँ सङ्क्रमितसँगै नेपालमा कोरोनाभाइरस सङक्रमितको संख्या ७१ हजार ८ सय २१ पुगेको छ ।
त्यस्तै पछिल्लो २४ घण्टामा १ हजार १ सय ४७ जना सङ्क्रमित निको भएर घर फर्केका छन् । उनीहरु समेत गरेर ५३ हजार १३ जना सङ्क्रमित निको भइसकेका छन् । हाल १८ हजार ३४१ जनामा कोरोनाभाइरसको सङ्क्रमण सक्रिय रहेको मन्त्रालयले जनाएको छ । जसमा संस्थागत आइसोलेशनमा ७ हजार ८३३ र होम आइसोलेशनमा १० हजार ५०८ जना रहेका छन् ।
त्यस्तै पछिल्लो २४ घण्टामा काठमाडौं उपत्यकाका ४ सहित ८ जनाको मृत्यु भएको छ । मृतक सबै पुरुष रहेको स्वास्थ्य तथा जनसंखया मन्त्रालयले जनाएको छ ।
मन्त्रालयका अनुसार मृत्यु हुनेमा काठमाडौंका २० र ७४ वर्षीय पुरुष रहेका छन् भने ललितपुर र भक्तपुरका क्रमशः ७६ र ८८ वर्षीय पुरुष रहेका छन् । यस्तै सप्तरीका ६६, मकवानपुरका ७४, रुपन्देहीका ७२ र कैलालीका ३० वर्षीय पुरुषको पनि मृत्यु भएको छ ।
यससँगै देशभर कोरोनाबाट मृत्यु हुनेको संख्या ४६७ पुगेको मन्त्रालयले जनाएको छ । संक्रमितमध्ये हालसम्म ०.६५ प्रतिशतको मृत्यु भएको छ ।
शनिबारको विवरणअनुसार देशका विभिन्न अस्पतालमा २७ जना संक्रमित भेन्टिलेटरमा रहेका छन् भने २२४ जना आईसीयीमा रहेका छन् । यस्तै ५०० भन्दा बढी कोरोना संक्रमित रहेका जिल्लामा मोरङ, सिरहा, काठमाडौं, भक्तपुर, ललितपुर, चितवन र रुपन्देही रहेका छन् । रसुवा, मनाङ, मुस्ताङ, डोल्पा, मुगु र हुम्ला संक्रमणमुक्त जिल्ला बनेका छन् ।



















