काठमाडौं । नेपालमा पछिल्लो २४ घण्टामा १ हजार ४ सय ९७ जना कोरोना भाइरसका सङ्क्रमित थपिएका छन् । पछिल्लो २४ घण्टामा ११ हजार ४४९ वटा नमूना परीक्षण गरिएको हो । योसँगै नेपालमा नौ लाख ५५ हजार ९२३ वटा आरटी पीसीआर परीक्षण भएको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले दैनिक प्रेस ब्रिफिङको क्रममा आज दिएको जानकारी अनुसार नेपालमा कुल सङ्क्रमितको संख्या ६९ हजार ३०१ जना पुगेको छ ।
मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमका अनुसार हाल संक्रिय संक्रमितको संख्या १८ हजार ४३७ जना छ । आइसोलेसनमा कुल १८ हजार ४३७ पुगेको छ । उनीहरु मध्ये संस्थागत आइसोलेसनमा आठ हजार ६१४ र होम आइसोलेसनमा नौ हजार ८२३ संक्रमितहरु रहेका छन् ।
त्यस्तै पछिल्लो २४ घण्टामा ४५७ जना सङ्क्रमित निको भएर घर फर्केका छन् । उनीहरु समेत गरेर संक्रमण मुक्त हुनेको संख्या ५० हजार ४११ जना पुगेको छ । ७२.७ प्रतिशत कोरोना संक्रमण मुक्त भएको मन्त्रालयले जनाएको छ । हाल क्वारेन्टिनमा ६ हजार ५६५ जना छन् ।
२४ घण्टामा १७ जनाको मृत्यु
चौबीस घण्टामा अहिलेसम्मकै धेरै संक्रमितको मृत्यु भएको छ । मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा १७ जनाको मृत्यु भएको छ । केही दिनअघि मात्र २४ घण्टामा १६ जनाको मृत्यु भएको थियो । नेपालमा कोरोना भाइरसका कारण मृत्यु हुनेको कुल संख्या ४५३ पुगेको छ ।





















