काठमाडौं । विनाअक्सिजन १०औँ पटक सगरमाथा आरोहण गरी विश्व कीर्तिमान कायम राख्न सफल आङरिता शेर्पा (हिमचितुवा)को अन्तिम संस्कार गरिएको छ । सोमबार बिहान आफ्नै निवास काठमाडौँको जोरपाटीमा निधन भएका आङरिताको राष्ट्रिय सम्मानका साथ आज शेर्पा समुदायको परम्पारगत विधि अनुरूप काठमाडौमा अन्त्येष्टि गरिएको हो ।
उनले सन् १९८३ देखि सगरमाथाको आरोहण शुरु गरेका थिए । सन् १९९६ मा विनाअक्सिजन सगरमाथामा पाइला टेटेका शेर्पाको त्यो अन्तिम आरोहण थियो । सर्वोच्च शिखर सगरमाथा मात्रै नभई विनाअक्सिजन नै पाकिस्तानको माउन्ट केटु तथा नेपालका चोयु, मनास्लु, ल्होत्से, अन्नपूर्ण, धौलागिरिलगायत दर्जनौँ हिमालको उहाँले पटकपटक आरोहण गरेका थिए ।

संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री योगेश भट्टराईले हिमचितुवाको नामले परिचित आङ्रिता शेर्पाको निधनले नेपालको पर्वतीय पर्यटनको क्षेत्रमा अपूरणीय क्षति पुगेको बताएका छन् ।
मन्त्री भट्टराईले शेर्पाको पार्थिव शरिरमा राष्ट्रिय झण्डा ओढाएका सम्मान गरेका छन् । मृतक शेर्पाको निधनप्रति श्रद्धाञ्जलि अर्पण गर्दै शोक सन्तप्त परिवारजनमा धैर्यधारण गर्ने शक्ति मिलोस भनी मन्त्री भट्टराईले कामना गरेका छन् ।

त्यस्तै मन्त्री भट्टराईले मंगलबार शोक विज्ञप्ती प्रकाशित गर्दै शेर्पाको अन्त्यष्टि राष्ट्रिय सम्मानका साथ गर्ने निर्णय सरकारले गरेको बताएका थिए ।
“कृत्रिम अक्सिजनको सहयोग विना दश पटकसम्म विश्वको सर्वोच्च शिखर सगरमाथाको सफल आरोहण गरी विश्व किर्तिमान कायम गर्नुभएका शेर्पाले नेपालको पहिचानलाई अन्तर्राष्ट्रियस्तरमा उच्च बनाउन महत्वपूर्ण योगदान पु¥याउनु भएको छ” मन्त्री भट्टराईले विज्ञप्तीमा भनेका छन् ।





















