काठमाडौं । पछिल्लो २४ घण्टामा १ हजार ५ सय ३९ जनामा कोरोना भाइरसका संक्रमित थपिएका छन् ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको नियमित प्रेस ब्रिफिङमा आज मन्त्रालयका प्रवक्ता प्राडा जागेश्वर गौतमले दिएको जानकारी अनुसार देशभरका प्रयोगशालामा गरिएको पीसीआर नमुना परीक्षणबाट उनीहरुमा संक्रमण पुष्टि भएको हो ।
आज थपिएका समेत गरेर नेपालमा कोरोना संक्रमितको संख्या ५८ हजार ३२७ पुगेको छ ।
प्रवक्ता गौतमका अनुसार पछिल्लो २४ घण्टामा १० हजार ४९४ जनाका पीसीआर परीक्षण भएको थियो । यो समेत गरेर जम्मा पीसीआर परीक्षणको संख्या ८ लाख ७२ हजार २७४ पुगेको छ।
त्यस्तै पछिल्लो २४ घण्टामा १ हजार ६८ जना कोरोना संक्रमित निको भएका छन् । हालसम्म निको हुनेको संख्या ४१ हजार ७०० पुगेको छ। ७१.५ प्रतिशत संक्रमित निको भएका छन् ।
आजसम्म देशभरमा सक्रिय संक्रमितको संख्या १६ हजार २४२ रहेको प्रवक्ता गौतमले बताएका छन्।
थप ८ कोरोना संक्रमितको मृत्यु, मृतकको संख्या ३७९ पुग्यो
नेपालमा पछिल्लो २४ घण्टामा ८ कोरोना संक्रमितको मृत्यु भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले दिएको जानकारी अनुसार नेपालमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ३ सय ७९ पुगेको छ ।





















