काठमाडौँ । संयुक्त राष्ट्रसङ्घको आह्वानमा शान्ति स्थापना गर्न लिविया ९अन्समिल०मा तैनाथ हुन जाने तयारीमा रहेका नेपाली सेनाका केही जवान मध्ये ३५ जनामा कोरोना सङ्क्रमण पुष्टि भएपछि उडान स्थगन भएको छ ।
नेपाली सेनाका प्रवक्ता सन्तोषबल्लभ पौडेलका अनुसार, शान्तिस्थापनार्थ लिविया जान लागेको ११६ जना शान्ति सैनिकमध्ये ३५ भन्दाबढीमा कोभिड–१९ पोजेटिभ देखिएपछि आजका लागि तय भएको उडान स्थगन भएको हो ।
युनाइटेड मिसन गार्ड युनिटका रुपमा रहेको उक्त टोलीमा १७ महिला सैनिकको समेत सहभागिता छ । काभ्रेको पाँचखालस्थित वीरेन्द्र शान्ति कार्य तालिम केन्द्रमा तालिम पूरा गरी चार महिनादेखि क्वारेन्टिनमा रहेका फौजमध्ये उडानपूर्व गरिएको परीक्षणमा ती जवानलाई सङ्क्रमण पुष्टि भएको बताइएको छ ।
संयुक्त राष्ट्र सङ्घको शान्ति सैनिक बोक्ने विमान नेपाली शान्ति सैनिकलाई लिन गएराति आउने र आजै बिहान टोली त्यसतर्फ जाने पूर्वनिर्धारित कार्यक्रम थियो । आइतबार मात्र कोरोना अचानक पुष्टि भएपछि उडान स्थगन गर्नुपरेको प्रवक्ता पौडेलले बताएका छन् ।
सङ्क्रमण देखिएका व्यक्तिको कन्टयाक टे«सिङ गरी उक्त टोलीमा रहने सबैको पुनः स्वास्थ्य परीक्षणपछि मात्र लिबियातर्फ जान उडानको मिति तय गरिने सैनिक जनसम्पर्क तथा सूचना निर्देशनालयले जनाएको छ ।
वैशाखमा नै लिबिया जानुपर्ने उक्त शान्ति सैनिकको टोली विश्वभर फैलिएको कोभिड–१९ का कारण चार महिना रोकिएको थियो । ती सैनिकमा परीक्षणपूर्व कुनै लक्षण नेखिएकाले आफौ ठूलो अनुसन्धानको विषय बनेको बताइएको छ ।
यसअघि अहिलेकै प्रक्रिया अपनाएर क्वारेन्टिनमा बसी द्वन्द्वग्रस्त मुलुक माली, कार र दक्षिण सुडानमा तैनाथ हुन गएका नेपाली शान्ति सेनामा भने कुनै सङ्क्रमण पुष्टि भएको थिएन ।
यसैबीच, पछिल्लो समय नेपाली सेनाका सकलदर्जामा कोभिड–१९ बाट सङ्क्रमितको सङ्ख्या ह्वात्तै बढेको छ । भदौ १७ गतेसम्म ५०८ जनामा मात्र पोजेटिभ पुष्टि भएकामा २८ गतेसम्म आइपुग्दा त्यो सङ्ख्या बढेर एक हजार ३८३ सैनिक सङ्क्रमित भइसकेको प्रवक्ता पौडेलले जानकारी दिनुभयो । कोभिड–१९ बाट सङ्क्रमित सैनिकमध्ये हालसम्म २९४ जना निको भएर घर फर्किसकेका छन् भने एक हजार ८९ जना कोरोनाका सक्रिय बिरामी हुन् ।




















