काठमाडौं । पछिल्लो दुई वर्षदेखि कुनै पनि चलचित्रमा नदेखिएकी अभिनेत्री श्वेता खड्का चाँडै नै चलचित्रमा देखिने भएकी छिन् । ‘हुर्रे’, ‘मेरी मामु’ र ‘राज्जा रानी’ चलचित्र निर्देशन गरेका यम थापाकोे निर्देशनमा बन्ने नयाँ चलचित्रमा श्वेताले काम गर्ने सहमति भएको बताइएको छ ।
सो चलचित्रमा श्वेताले आमाको भूमिका निर्वाह गर्ने बताइएको छ । आफूले निर्वाह गर्न लागेको भूमिका खुलाउन नचाहे पनि श्वेताले चलचित्रले आमा र छोरीको भावनात्मक सम्बन्धको कथा प्रस्तुत गर्ने बताएकी छिन् । चलचित्रको नाम नखुलाइएपनि छोरीको भूमिका बालकलाकार सेड्रिना शर्मालाई अफर गर्ने सोच रहेको निर्देशक थापाले बताएका छन् ।
चलचित्रको कथा निर्देशक थापा स्वयंको हो । निर्देशक थापाले पहिला श्वेतालाई अतिथी भूमिकाका लागि एउटा फिल्म अफर गरेका थिए । तर, उनले उक्त फिल्म अस्वीकार गरेपछि यमले नयाँ कथा सुनाएपछि स्वेताले स्वीकृत गरेको बताइएको छ ।
फिल्ममा अभिनय गर्नेबारे श्वेताले भनेकी छिन्, ‘कथा राम्रो लागेपछि काम गर्न सहमत भएकी हुँ । कोरोना महामारीपछि यही फिल्म गर्नेछु । यसपछि आफ्नै प्रोडक्सन हाउसबाट नयाँ फिल्म निर्माण गर्दैछु । अहिले कथामा काम हुँदैछ ।’