काठमाडौँ । नेपालमा १४ देशका कलाकारले बनाएका सिर्जनाको ‘भर्चुअल कला प्रदर्शनी’ शुरु भएको छ । अन्तरराष्ट्रिय जलरङ समाज नेपालले आफ्नो चौथो वार्षिकोत्सवका अवसरमा उक्त प्रदर्शनी शुरु गरेको हो । सोमबारदेखि शुरु भएको प्रदर्शनी १० दिनसम्म रहने छ । ‘स्प्लासेस’ प्रदर्शनीमा बन्दाबन्दी अवधिमा बनेका ६५ सिर्जना समावेश गरिएको छ । यहाँ नेपाली ३७ र विदेशी २८ कलाकार सहभागी छन् ।
समाजले आफ्नो वार्षिकोत्सवका अवसरमा हरेक वर्ष प्रत्यक्षरुपमा प्रदर्शनी गर्दै आएकामा यसपटक विषम परिस्थितिका कारण सम्भव नभएपछि भर्चुअल प्रदर्शनी गरिएको हो । समाजले अन्तरराष्ट्रय कला प्रदर्शनीसमेत हरेक दुई वर्षमा गर्दै आएको थियो । यस वर्ष पनि आगामी भदौमा कार्यक्रमको तयारी हुँदै गर्दा कोभिड–१९ का कारण सम्भव नभएपछि यस वर्ष स्थगन गरिएको छ ।
समाजका अध्यक्ष एनबी गुरुङका अनुसार यसपटक भने बन्दाबन्दीका समयमा घरभित्रैको क्यानभासमा समेटिएका चित्र प्रदर्शनीमा सहभागी गराइएको छ । प्रदर्शनीबाट विभिन्न मुलुकका कलासंस्कृति आपसमा साटासाट हुने भएकाले एकापसमा सम्बन्ध प्रगाढ बनाउन सहयोग मिल्ने जनाइएको छ । प्रदर्शनीमा नेपाल, भारत, बङ्गलादेश, अमेरिका, चीन, फिलिपिन्स, इरान, इण्डोनेसिया, कोष्टारिका, दक्षिण कोरिया, दक्षिण अफ्रिकालगायत देशको सहभागिता छ ।
प्रदर्शनीको भर्चुअल माध्यमबाट उद्घाटन गर्दै समाजका अन्तरराष्ट्रिय अध्यक्ष अतानुर डोगानले कार्यक्रम नेपालको पहिचान दिलाउन महत्वपूर्ण हुने विश्वास व्यक्त गर्नुभयो । केही वर्षअघि नेपाल आउनुभएका उहाँले नेपालको सुन्दरतामा आफू लोभिएकाले अर्काे वर्ष कला सिर्जनाका लागि आउने प्रतिबद्धता जनाउनुभयो ।
(रासस)