काठमाडौँ । कोरोना भाइरस कोभिड–१९ बाट आज थप एक जना मृत्यु भएको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले गरेको नियमित पत्रकार सम्मेलनमा मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले अर्घाखाँची मालारानी गाउँपालिका–४ का ५७ वर्षका पुरुषको निधन भएको बताउनुभयो । गत बुधबार लुम्बिनी अस्पताल बुटवलबाट उपचार गरी घर फर्कने क्रममा कोद्रे खोला नजिक उहाँको निधन भएको हो ।
उहाँ १२ दिनअघि भारतको महाराष्ट्रबाट आई सोही ठाउँको सार्वजनिक आधारभूत माध्यमिक विद्यालयको क्वारेन्टिनमा बस्नुभएको थियो । क्वारेन्टिनमा बसेका बेला स्वासप्रस्वासमा समस्या आएपछि अस्पताल लगिएको थियो ।
मन्त्रालयका प्रवक्ता डा गौतमले मृत्युपछि उहाँको प्रादेशिक प्रयोगशालामा गरिएको परीक्षणका क्रममा बिहीबार जेठ २९ गते कोभिड–१९ को सङ्क्रमण देखिएको बताउनुभयो । उहाँसँगै कोभिड–१९ बाट मृत्यु हुनेको सङ्ख्या १६ पुगेको छ ।
प्रवक्ता प्रा।डा। गौतमले दिएको जानकारी अनुसार पछिल्लो २४ घण्टामा थप ४ सय ४८ जनामा कोरोना पुष्टि भएको छ । संक्रमितमध्ये ४ सय २४ पुरुष र २४ महिला रहेका छन्। यो एकैदिन परीक्षण गर्दा देखिएका संक्रमितमध्येको उच्च संख्या हो। योसँगै नेपालमा कोरोना संक्रमितको संख्या ५ हजार ६२ पुगेको छ।
संक्रमितमध्ये ४ हजार ७ सय ९ पुरुष र ३ सय ५३ जना रहेको प्रवक्ता गौतमले जानकारी दिनु भएको छ ।
पछिल्लो २४ घण्टामा नेपालमा थप १६ जना उपचारपछि निको भएर घर फर्केका छन्। योसँगै निको भएर घर फर्कनेको संख्या ८ सय ७७ पुगेको छ । जसमा ७८६ पुरुष र ९१ जना महिला छन् ।
अहिलेसम्म १ लाख २१ हजार ८ सय ६२ को आरटीपीसीआर विधिबाट परीक्षण गरिएको छ भने पछिल्लो २४ घण्टामा ५ हजार ९ सय ९ जनाको परीक्षण गरिएको थियो।



















