काठमडौं । पछिल्लो २४ घण्टामा नेपालमा २ सय ५० कोरोना संक्रमित थपिएका छन्। बिहीबार स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको नियमित प्रेस ब्रिफिङमा मन्त्रालयका प्रवक्ता प्रा.डा. जागेश्वर गौतमले दिएको जानकारी अनुसार देशभरका प्रयोगशालामा गरिएको परीक्षणमा कोरोना पुष्टि भएकारुमा २ सय ३० पुरुष र २० जना महिला रहेका छन्।
आज थपिएका समेत गरेर नेपालमा कोरोना संक्रमितको संख्या ४ हजार ६ सय १४ पुगेको प्रवक्ता गौतमले जानकारी दिएका छन्।
संक्रमितमध्ये ४ हजार २८५ पुरुष र ३२९ महिला रहेका छन्।
हालसम्म १ लाख १५ हजार ९ सय ३० जनाको पीसीआर परीक्षण गरिएको प्रवक्ता गौतमले बताएका छन् ।
कोरोना संक्रमणका कारण हालसम्म नेपालमा मृत्यु हुनेको संख्या १५ जना छ भने हालसम्म ८७ महिलासहित ८ सय ६१ जना डिस्चार्ज भएका छन् ।
संक्रमित मध्ये सवैभन्दा धेरै प्रदेश २ का ८ जिल्लामा १ हजार ६ सय ७१ जना छन् भने त्यसपछि प्रदेश ५ का १२ जिल्लामा गरी १ हजार ३ सय ९९ जनामा कोरोना पुष्टि भएको प्रवक्ता गौतमले बताएका छन्।
त्यस्तै कर्णाली प्रदेशका ९ जिल्लाका ७६९, प्रदेश १ का १३ का ३०७, सुदूरपश्चिम प्रदेशका ९ जिल्लाका १९२, बागमती प्रदेशका १२ का १४७ र गण्डकी प्रदेशका ९ जिल्लाका १४७ जनामा कोरोना पुष्टि भएको प्रवक्ता गौतमले बताएका छन्।



















