काठमाडौं । पछिल्लो २४ घण्टामा कोरोना भाइरस संक्रमण हुनेको संख्या ३ सय ३४ जना थपिएका छन् । यससँगै नेपालमा कोरोना संक्रमितको संख्या २६ सय ३४ पुगेको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. विकास देवकोटाले दिएका जानकारी अनुसार पछिल्लो २४ घन्टामा देशका विभिन्न स्थानका प्रयोगशालामा गरिएको परीक्षणमा ३ सय १९ जना पुरुष र १५ जना महिलामा कोरोना संक्रमण पुष्टि भएको हो।
कोशी अस्तपालको प्रयोगशालमा गरिउको परीक्षणमा मोरङका १ जना, झापाका २ र खोटाङका ३ जना भने नारायणी अस्पतालको प्रयोगशालमा गरिएको परीक्षणमा पर्साका १ जनाको रिपोर्ट पोजेटिभ आएको छ।
त्यस्तै बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा गरिएको परीक्षणमा झापाका ३, सुनसरीका २ र सप्तरीका १३ जनामा कोरोना संक्रमण देखिएको डा. देवकोटाले बताएका छन्।
यस्तै, हेटौँडाको प्रयोगशालामा गरिएको परीक्षणमा बाराका ७, सिन्धुलीका १ र रौतहटका १ जनाको रिपोर्ट पोजेटिभ आएको भने पोखराको प्रादेशिक प्रयोगशालामा गरिएको परीक्षणमा म्याग्दीका १, बाग्लुङका १०, पर्वतका ४ र स्याङ्जाका १ जनामा कोरोना संक्रमण भेटिएको छ।
त्यसैगरी सेती अस्पलालको प्रयोगशालमा गरिएको परीक्षणमा डोटीका ३ जना र भेरी अस्पतालको प्रयोगशालामा ४२ जनाको रिपोर्ट पोजेटिभ आएको छ।
त्यस्तै धुलिखेल अस्पतालमा गरिएको परीक्षणमा कपिलवस्तुका १७ जनामा कोरोना संक्रमण देखिएको छ भने राप्ती प्रतिष्ठानको प्रयोगशालमा दाङका १५ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।
स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा. देवकोटाका अनुसार कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान प्रयोगशालामा दैलेखका १ सय ५ र मुगुका १ जनामा कोरोना संक्रमण पुष्टि भएको छ। सुर्खेतको प्रयोगशालामा दैलेखका ८ जनाको रिपोर्ट पोजेटिभ आएको छ।
त्यस्तै, राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला टेकुमा गरिएको परीक्षणमा बाराका ५, धनुषाका ६, कपिलवस्तुका १२, महोत्तरीका ३, रौतहटका ६४, र सर्लाहीका ३ जनामा कोरोना संक्रमण पुष्टि भएको छ।
२६३४ संक्रमित मध्ये हालसम्म २ सय ९० जना उपचारपछि निको भएर घर फर्किएका छन् भने १० जनाको मृत्यु भइसकेको छ।



















