काठमाडौं । नेपाली सेनाले दुई भारतीय सञ्चारमाध्यममा प्रकाशित समाचारप्रति गम्भीर ध्यानाकर्षण भएको जनाएको छ ।
भारतबाट प्रकाशित हिन्दुस्तान टाइम्स र टीएफआई पोष्ट डटकमले भारतीय सेनाध्यक्ष मनोज मुकुन्द नरभानेको टिप्पणीमाथि खण्डन गर्न प्रधानमन्त्री केपी शर्मा ओलीले निर्देशन दिए पनि नेपालका प्रधानसेनापति पूर्णचन्द्र थापाले अस्वीकार गरेको समाचार प्रकाशित गरेको थियो ।
सैनिक सूचना तथा जनसम्पर्क निर्देशनालयले बिहीबार एक विज्ञप्ति प्रकाशित गरी भारतीय मिडियामा प्रकाशित समाचार प्रोपगाण्डा मात्र भएको जनाएको छ ।
विज्ञप्तिमा भनिएको छ, ‘भारतीय मिडियामा प्रकाशित भ्रामक समाचार दुई मित्रराष्ट्र तथा विशिष्ट ऐतिहासिक सम्बन्ध भएका दुई सेनाहरुबीचको सम्बन्ध र विश्वासमा नकारात्मक असर पुर्याउने उद्देश्यबाट प्रेरित देखिन्छ ।’
राष्ट्रिय एकता थप मजबुत बनाउनुपर्ने परिस्थितिमा नेपालमा विभाजन ल्याउने तथा सेनालाई अनावश्यक विवादमा तान्ने कुत्सित मनसायले अफवाह फैलाइएको जंगीअड्डाले जनाएको छ ।
त्यस्तै भारतीय सेनाध्यक्ष नरभानेको टिप्पणीबारे रक्षामन्त्री ईश्वर पोखरेलले पनि धारणा सार्वजनिक गरिसकेको उल्लेख गर्दै नेपाली सेनाले भनेको छ, ‘नेपाली सेना नेपालको संविधान अनुरुप नेपाल सरकारबाट प्राप्त वैधानिक निर्णय र निर्देशन पालना गर्न सदैव कटिबद्ध रहोको पनि जानकारी गराउन चाहन्छौं ।’
साथै आगामी दिनहरुमा समेत विभिन्न माध्यमबाट नेपाल, नेपाली नागरिक र नेपाली सेनासम्वन्धी यस प्रकारका अफवाहहरु फैलाउन प्रयासहरु हुन सक्ने भएकोले सचेत र सजग रहन नेपाली सेना अनुरोध समेत गरेको छ ।



















