काठमाडौं । बलिउड अभिनेता इरफान खानको निधन भएको छ । मुम्बईको कोकिलाबेन धिरुभाई अम्बानी अस्पतालमा मंगलबार ५४ वर्षको उमेरमा खानको निधन भएको जनाइएको छ ।
हिन्दूस्तान टाइम्समा प्रकाशित समाचार अनुसार अचानक स्वास्थ्यमा समस्या आएपछि खानलाई मंगलबार आईसीयूमा भर्ना गरिएको थियो । खानका प्रवक्तालाई उद्धृत गर्दै समाचारमा जनाइए अनुसार उनलाई ‘कोलन इन्फेक्सन’ भएको थियो ।
गत वर्ष खान गम्भिर अस्वस्थ भएर लामो समय लन्डनमा उपचार गराई फर्केका थिए । त्यसबेला उनलाई न्यूरोइन्डोक्राइन ट्यूमर भएको थियो । लन्डनबाट फर्किएपछि खान कोकिलाबेन अस्पतालका डाक्टरको निगरानीमा रहेका थिए ।
कुशल अभिनयका लागि चिनिएका इरफानले सलाम बम्बे, मकबुल, पान सिंह तोमर, द लन्चबक्स, हैदर, गुन्डे, पिकु, तलभार लगायत फिल्ममा अभिनय गरेका छन् ।
उनले गत वर्ष ‘अंग्रेजी मिडियम’ फिल्मका काम गरेका थिए । खानकी आमा सईदा बेगमको पनि हालै मात्र निधन भएको थियो । लकडाउनको कारण इरफान आफ्नी आमाको अन्तिम यात्रामा पनि उपस्थित हुन सकेका थिएनन् । उनले भिडियो कलमार्फत आमाप्रति श्रद्धान्जली प्रकट गरेका थिए ।