काठमाडौं । विमानस्थलमा चेकजाँचका बेला गायिका आस्था राउतले प्रहरीमाथि अभद्र व्यवहार गरेको भन्दै उजुरी परेको छ । आफूविरुद्ध उजुरी परेपछि गायिका राउतले सामाजिक सञ्जालमार्फत् माफी मागेकी हुन् ।
प्रहरी जवान रमिता श्रेष्ठले आफूमाथि अभद्र व्यवहार भएको भन्दै विमानस्थल सुरक्षा प्रहरी कार्यालयमा गायिका राउतविरुद्ध उजुरी दिएकी हुन् । विमानस्थलमा गायिका आस्था राउतको चेकजाँच गरेकी उनले आफू ड्यूटीमा रहँदा गालीगलौच र अभद्र ब्यवहार भएको भन्दै उजुरी दिएकी हुन् । उनको उजुरीमाथि कारबाहीका लागि विमानस्थल प्रहरी कार्यालयले महानगरीय प्रहरी आयुक्तको कार्यालय रानीपोखरीमा पठाएको छ ।
प्रहरीलाई तुच्छ शब्दले गाली गरेको भिडियो सार्वजनिक भएपछि विवादमा तानिएकी गायिका राउतले आफूले बोलेको शब्दहरुप्रति आफैलाई ग्लानी महसुस भएको बताएकी छन् । गायिका राउतले फेसबुक लाइभमा भनेकी छन्, ‘विमानस्थल घटनामा आफूले बोलेको शब्दप्रति आफैलाई ग्लानी भएको छ । संयमित भएर बोल्न सकिन, माफी चाहन्छु ।’
शुक्रबार फेसबुक लाइभमा गायिका राउतले महिला प्रहरीले दुव्र्यवहार गरेको भन्दै नानाथरी गाली ग्लोज गरेकी थिइन् । उनको अभिव्यक्तिलाई दिएर चौतर्फी विरोध भएको छ । सामाजिक सञ्जाल प्रयोगकर्ताहरुले सुरक्षा चेकजाँचमा सहयोग पुर्याउनु नागरिकको कर्तव्य हो भन्दै कुनै एक प्रहरीबाट गल्ती भएपनि सवै प्रहरी तथा सुरक्षा निकायमाथि तल्लोस्तरमा झरेर गाली गर्नु निन्दनीय भएको प्रतिक्रिया दिएका छन् ।
गायिका राउतले आफ्नो मनोबल घटेको र मन दुखेको भन्दै ‘कुनै दम्भ पनि देखाएको छैन, डराएको पनि छैन् ।’ भनेकी छिन् ।
राम्रो काम गरेर हिँडेको मान्छले कहिले दम्भ नदेखाउने बताउँदै गायिका राउतले भनेकी छिन, ‘अत्याचार भएर बोल्दा उल्टै म नराम्रो भएँ । फ्यानहरुलाई आग्रह मेरो लागि पनि बोलिदिनुस् ।’