काठमाडौँ, नेपाल भ्रमणवर्ष २०२० को अवसरमा समुदाय प्रहरी साझेदारी अभियान अन्तर्गत बुधबार ‘स्वयम्भू साँस्कृतिक कार्यक्रम’ शुभारम्भ गरिएको छ ।
उक्त कार्यक्रम उद्घाटन गर्दै काठमाडौँ महानगरपालिकाका प्रमुख विद्याशुन्दर शाक्यले समुदाय प्रहरी साझेदारी कार्यक्रम अपराध नियन्त्रणका लागि महत्वपूर्ण भएको बताउनुभयो । पर्यटकलाई गुणस्तरीय सेवा दिन र सुरक्षा प्रदान गर्न यस्ता कार्यक्रम सहयोगी हुने उहाँले विश्वास व्यक्त गर्नुभयो । प्रमुख शाक्यले प्रहरी र समुदायको सहकार्यबाट काठमाडौँ महानगर सहयोगापेक्षी सडकमानवमुक्त बनाउनुपर्नेमा जोड दिनुभयो ।
विश्व सम्पदा सूचीमा सूचीकृत स्वयम्भू स्तुपा र यस वरपर रहेको मौलिक, साँस्कृतिक तथा पर्यटकीय महत्वका ऐतिहासिक धरोहरको संरक्षण, संवद्र्धन र प्रवद्र्धन गरी आन्तरिक तथा बाह्य पर्यटकलाई आकर्षित गरी सुरक्षा व्यवस्था मजबुद बनाउन काठमाडौँ महानगरपलिका १५ द्वारा उक्त कार्यक्रम आयोजना गरिएको हो ।
प्रहरी महानिरीक्षक सर्वेन्द्र खनालले समुदाय प्रहरी सझेदारी अन्तर्गतको यस कार्यक्रमको माध्यमबाट समुदायमा प्रहरी र नागरिकबीचको सम्बन्ध अझ प्रगाढ हुने विश्वास व्यक्त गर्नुभयो । प्रहरी सदैव जनतामा समर्पित रहेको चर्चा गर्दै उहाँले समुदायसँग मिलेर नागरिकलाई सुरक्षाको पूर्ण अनुभूति दिलाउन प्रहरी कर्मचारीलाई निर्देशन दिनुभयो ।
काठमाडौं महानगरपालिका– १५ नं वडा कार्यालयका प्रमुख ईश्वरमान डङ्गोलले शान्ति सुरक्षा प्रभावकारी बनाउन प्रहरी र समुदायको सहकार्य जरुरी हुने भएकाले उक्त कार्यक्रम आयोजना गरिएको बताउनुभाये । उहाँका अनुसार पुस २२ गतेसम्म साँस्कृतिक कार्यक्रम चल्ने छ ।