काठमाडौं, भारतकी चर्चित गायिका आशा भोस्ले नेपाल आइपुगेकी छिन्। साधना कला केन्द्र पुतलीसडकको निमन्त्रणामा भोस्ले बुधबार नेपाल आएकी हुन्।
भोस्लेले शनिबार संगीतकार रणजीत गजमेरको संगीतमा तीनचार वटा गीत प्रस्तुत गर्ने कार्यक्रम रहेको केन्द्रका संस्थापक निर्देशक मिलन मोक्तानले जानकारी दिए। उनलाई नेपालका ३५ जना कलाकारले साथ दिने मोक्तानले बताएका छन् ।
यसअघि केन्द्रको निमन्त्रणामा अनुराधा पौडवाल, सञ्जीवनी, दीपानारायण झा, साधना सरगम, इुन्द्रजीत मिजारलगायत कलाकार नेपाल आएका थिए । असी वर्षीया गायिका भोस्लेले लुम्बिनी, पोखरा, मुक्तिनाथलगायत स्थानको पनि भ्रमण गर्ने बताइएको छ ।
‘यो हो मेरो प्राणभन्दा प्यारो माइतीघर’, ‘म प्यार बेचिदिन्छु’, ‘गैरीखेतको शिरै हान्यो’, ‘मोहनी लाग्ला है’, ‘झझल्को लिएर आएछ सावन’, ‘साउने झरीमा’, ‘नयाँ नयाँ सजाऔँ है संसार’, ‘के सोचेँ मैले के भयो अहिले’, ‘किन बढ्दै छ ढुकढुकी मुटुको’, ‘पहाडको माथिमाथि’, ‘तिम्रो मनमा लुकेको कुरा’, ‘टाढा भइ नजाऊ कहिल्यै’ लगायत दर्जनौ नेपाली गीत गाएर नेपाली भाषा, गीतसङ्गीतमा ठूलो योगदान दिएकी छिन् भोस्लेले ।
नेपाल भ्रमण वर्षलाई प्रवद्र्धन गर्न गायिका भोस्लेको नेपाल आगमनले ठूलो योगदान पुग्ने मोक्तानले बताएका छन् ।