काठमाडौं । नेपाली संगीतका पारखीहरु र त्यस संगीतमा आफ्नो भविष्य देख्नेहरुले सर्वाधिक रुचाइएको रियालिटी शो नेपाल आइडलको तेस्रो संस्करण आजबाट शुरु हुँदैछ । अडिसन राउन्डका सबै श्रृंखला छायांकन गरिसकेको आयोजकले आजबाट प्रशारण सुरू गर्न लागेको बताइएको छ ।
नेपाल आइडल सीजन ३ मा डिशहोम पनि जोडिएको छ । अन्तर्राष्ट्रिय रुपमा चर्चित यस शोलाई नेपालमा एपि वान् एचडिले पहिलो संस्करणदेखि नै प्रसारण गर्दै आइरहेको छ । नेपाल आइडल कार्यक्रमको प्र्रसारण टेलिभिजनमा समाप्त भए लगतै उक्त कार्यक्रम डिशहोमको रियालिटी टिभी च्यानल नं. १४३ मा पुनः प्रसारण गरिने कम्पनीले जनाएको छ । कार्यक्रम राति ८ः३० बजे एपी वान टेलिभिजनबाट प्रशारण हुने छ ।
नेपाल आइडल ३ को प्रसारण प्रारम्भसँगै यसको प्रसारण सहयात्रीमा नेपालमा सर्वाधिक ग्राहक संख्या भएको तथा अन्तर्राष्ट्रिय स्तरको प्रसारण गुणस्तर भएको डिशहोम पनि आबद्ध भएको हो । डिशहोम नेपाल आइडल सीजन ३ सँग प्रोयोजक श्रेणीमा आवद्ध भएको छ । डिशहोम ले नेपाल लोक स्टार तथा द भ्वाइस अफ नेपालसँग पनि सहकार्य गरिसकेको छ । डिशहोम यसप्रकारका रियालिटी शोहरुलाई साथ दिन सदा प्रतिबद्ध रहेको बताएको छ ।
नेपाल आइडलको यो सिजनमा पनि निर्णायकमा न्ह्यु वज्राचार्य, कालीप्रसाद बास्कोटा र इन्दिरा जोशी नै छन् । यसअघिका दुई सिजनमा ‘सो’ को होस्ट गरेकी रिमा विश्वकर्मा यो सिजनमा देखिने छैनन् । उनी ‘कमेडियन च्याम्पियन’ सो–तर्फ लागेपछि उनको ठाउँमा माम्तीले प्रवेश पाएको स्रोतको भनाइ छ ।
‘नेपाल आइडल’ सिजन–१ मा बुद्ध लामा र दोस्रो सिजनमा रवी ओड विजेता बनेका थिए ।