काठमाडौं । नायिका ऋचा शर्माको विवाह यही मंसिर २१ गते हुने भएको छ । दिपेश विक्रम राणासँगको प्रेम सम्बन्धमा रहेकी नायिका ऋचाले आफ्नो आधिकारिक फेसबुक अकाउन्टमा सबैलाई आशिर्वादका लागि धन्यवाद दिँदै विवाहको मिती निश्चित गरिएको कार्ड सार्वजनिक गरेकी छिन् ।
पछिल्लो समय ‘कमेडी च्याम्पिएन’ नामक रियालिटी शोको निर्णायक समेत रहेकी नायिका ऋचाले ललितपुरको लाबिम मलका म्यानेजर दिपेशसँग विवाह गर्न लागेकी हुन् ।
ऋचाले फेसवुकमार्फत सार्वजनिक गरेको विवाहको कार्डमा लेखिएको छ, ‘हामीले सन् २०१९ को डिसेम्बर ७ तारिखमा लगनगाँठो कस्न लागेको खबर दिन पाउँदा हामी निकै खुसी छौं । तपाईंहरुले हामीलाई यत्तिका वर्षसम्म जति माया र शुभकामना दिनुभयो त्यसका कारण हामी कृतज्ञ छौं । अब हामीलाई जीवनको यो नयाँ यात्रामा तपाईंहरुको आशिर्वाद र माया चाहिन्छ ।’
नायिका ऋचा शर्माको बिहे चर्चा केही समयदेखि चलिरहेको छ । केही समय अगाडि ब्याचलर पार्टीमा सहभागी भएसँगै ऋचाको बिहे चर्चा सुरु भएको हो । ऋचाले पनि लामो समयदेखि घरबाट बिहेका लागि दबाब आएको बताउँदै आएकी थिइन् ।