काठमाडौं । जिल्ला अदालतले नायिका शिल्पा पोखरेललाई साधरण तारेखमा छाड्न आदेश दिएको छ । बहुविवाहको मुद्दामा फरार रहेकी शिल्पा शुक्रबार सुटुक्क जिल्ला अदालत, काठमाडौंमा हाजिर भएकी थिइन् । शुक्रबारै उनलाई अदालतले साधारण तारेखमा छाड्ने आदेश दिएको हो ।
निर्माता छविराज ओझाकी पहिलो पत्नी हिमा ओझाले छवि र शिल्पाविरुद्ध दिएको बहुविवाहको उजुरी दिएकी थिइन् । निर्माता ओझा भने अहिलेसम्म अदालत उपस्थित भएका छैनन् । उनीहरुविरुद्ध महिला सेल, कालिमाटीले साउन ८ गते पक्राउ पूर्जी जारी गरेको थियो । पुर्जीविरुद्ध सर्वोच्चमा पुगेकी शिल्पा सर्वोच्चले मुद्दा खारेज गरेपछि शुक्रबार अदालत उपस्थित भएकी हुन् । न्यायाधीश मुकेश उपाध्यायको इजलासले उनलार्य साधरण तारेखमा छाड्न आदेश दिएको हो ।
छवि ओझा र हेमाकुमारी ओझाबीच यसअघि नै अंशबन्डा भइसकेको देखिएकाले प्रारम्भिक आधार र प्रमाणका आधारमा शिल्पा दोषी हुन नसक्ने ठहर जिल्ला अदालतले गरेको छ । २०७३ साल असार २९ गते बिहे गरेका छवि र शिल्पाले गतबर्षको पौषमा मात्र बिहे दर्ता गरेका थिए । पछिल्लो समय उनीहरुबीचको सम्वन्ध राम्रो छैन । छविले कुटपिट गरेको भन्दै शिल्पाले प्रहरीमा उजुरी दिएकी थिइन् । प्रहरीले मिलापत्र गराएर पठाए पनि उनीहरुको सम्वन्ध सुध्रिएको छैन ।